सदनमा फेरि कोरम पुगेन

साउन ३१, काठमाडौ – संसद सञ्चालनका लागि आवश्यक गणपुरक संख्या (कोरम) नगुग्दा भाद्र ४ गतेका लागि घोषणा गर्न खोजिएको संसदीय समितिका सभापतिहरुको निर्वाचन कार्यक्रम घोषणा प्रभावित भएको छ ।

संसद नियमावली अनुसार कुनैपनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न कुल सदस्य संख्याको एक चौथाई १५१ सांसद कोराम आवश्यक पर्छ । प्रस्ताव प्रस्तुत गर्ने बेलामा कुनै सदस्यले कोरमको प्रश्न उठाएमा मात्र सभामुखले उपस्थित सांसदको संख्या गणना गर्ने अभ्यास छ ।

कार्यसूची अनुसार युवा परिषद् विधेयक माथि विचार गरियोस भन्ने प्रस्ताव निर्णयार्थ पेस गर्ने बेलामा नेमकिपाका डिल्ली प्रसाद काफ्लेले कोरमको प्रश्न उठाएका थिए । सभामुखले पाँच मिनेट घन्टी बजाएर भवन परिसरमा रहेका सबै सांसदलाई बैठक कक्षमा डाकेर गणना गर्दा १२९ सांसद मात्र उपस्थित थिए ।  कोरम अभावका कारण छलफलका सबै विषयलाई कार्यसूचीबाट हटाइएको घोषणागर्दै नेम्वाङ्गले सोमबार सम्मका लागि बैठक स्थगित गर्नुपरेको हो ।

बैठकमा  नेमवाङले केही सांसदहरुको समिति परिवर्तन गरी साउन ४ गतेका लागि सभापति निर्वाचनको कार्यक्रम घोषणा गर्ने तयारीमा थिए । संभावित सभापतिका उम्मेद्वार अर्को समितिमा भएको अवस्थामा अन्तिम पटक हेरफेरको मौका दिएर नेम्वाङ्गले सुरु गर्न लागेको निर्वाचन कार्यक्रम घोषणामा ढिलाईको असर निर्वाचनको तिथिमा पर्न सक्छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।