कोरियन भाषा परीक्षामा आवेदन दिने अहिलेसम्मकै बढी, २ दिन मै ५८ हजारले फारम भरे

साउन ३१, काठमाडौ – कोरियन भाषा परीक्षामा सहभागी हुन आवेदन दिनेको संख्या ५७ हजार पाँच सय ७८ पुगेको छ । आवेदन खुला भएको तेस्रो दिन शुक्रबारमात्रै १७ हजार दुई सय ३२ जनाले आवेदन दिएका छन् । आवेदन दिने म्याद शनिबारसम्म छ । रोजगार अनुमति प्रणाली (र्इपीएस)अन्तर्गत कोरियन भाषाको परीक्षाका लागि आवेदन खुला गरिएको यो पाँचौ पटक हो ।

गत वर्ष जम्मा ४८ हजारजनाले आवेदन दिएका थिए । यसपटक गत वर्षभन्दा आवेदन दिनेको संख्या २० हजारले बढ्ने इपीएस कोरिया शाखाले अनुमान गरेको छ । आकर्षक तलब तथा अन्य सेवा सुविधाका कारण कोरिया जान चाहनेको संख्या बर्सेनि बढ्न थालेको अन्नपूर्ण पोस्टमा खबर छ ।

यसपटक कोरियाले नेपालबाट लैजाने कामदार कोटा गोप्य राखेको भए पनि आवेदकको संख्या भने अझ बढेको हो । ईपीएस कोरिया शाखाका अनुसार स्नातकोत्तरसम्म अध्ययन गरेका व्यक्तिले पनि आवेदन दिएका छन् । सानातिना व्यवसाय गरेका तथा जागिरेले समेत आवेदन दिएका छन् ।

शुक्रबार सबैभन्दा बढी आवेदन सीतापाइलास्थित एक्मी इन्जिनियरिङ क्याम्पस केन्द्रमा परेको छ । यो केन्द्रमा कुल चार हजार दुई सय ३९ जनाले आवेदन फारम भरेका छन् । बिहीबार पनि यही केन्द्रबाट सबैभन्दा बढी चार हजार तीन सय एक आवेदन परेको थियो ।