इबोला भाइरस खतरा बढेपछि सर्कता अपनाइने

साउन २७, काठमाडौ –  अफ्रिकामा महामारीको रुपमा फैलिएको इबोला भाइरस नेपालमा पनि भित्रिन सक्ने खतरा बढेपछि सरकारले सर्कता अपनाउने भएको छ । अफ्रिकी मुलुकबाट फर्किएकाहरुलाई तीन हप्तासम्म निगरानीमा राख्ने तथा विमानस्थलमै स्वास्थ्यकर्मी खटाएर परीक्षण गर्ने सरकारको तयारी छ ।  पश्चिम अफ्रिकी मलूकमा फैलिरहेको इबोला भाइरस नेपालमा भित्रने संभावना उच्च रहेपनि नियन्त्रणका लागि आजसम्म भने कुनै ठोस काम भएको छैन ।

अफ्रिकाका बिभिन्न देशमा नेपालीको पनि ओहोरदोहोर हुने भएकाले नेपाल पनि त्यसको उच्च जोखिममा रहको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।  साढे तीनहजार नेपाली सैनिक अफ्रिकी देशहरुमा शान्ति मिसनको लागि खटिएको झण्डै दुई लाख नेपाली काम तथा अध्ययनको लागि त्याहाँ पुगेका छन । तिज, दशै, तिहार लगायतका पर्वका लागि नेपालीहरु स्वदेश फर्किने क्रम बढ्ने भएकाले यसको जोखिम झनै उच्च हुने विज्ञहरुले बताएका छन । भारतसँगको खुला सीमाका कारण सीमा क्षेत्रका बासिन्दा अझ बढी जोखिममा रहेको महाशाखाले बताएको छ ।

संक्रमित व्यक्तिका शरीरबाट निस्कने तरल पदार्थ जस्तै रगत, दिसा, पिसाब, यौनरस, विर्य, पसिना लगायतबाट यो रोग सर्ने चिकित्सकहरु बताउँछन । भाइरस सरेपछि घाँटी खसखस गर्ने, खोकी लाग्ने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखा रातो हुने जस्ता समस्या देखिन्छन । कुनै उपचार र औषधि नभएको यो रोग लागेका ९० प्रतिशतको ज्यान जाने गरेको छ । अफ्रिकामा इबोला भाइरसको संक्रमणबाट एकहजार भन्दा धेरैको ज्यान गैसकेको छ ।