श्रेष्ठको अन्त्येष्टिको सम्पूर्ण खर्च बोर्डले ब्यहोर्ने

साउन २५, काठमाडौँ   –  भारतको नयाँदिल्लीमा उपचारका क्रममा निधन हुनुभएका अभिनेता श्रीकृष्ण श्रेष्ठको अन्त्येष्टिको सम्पूर्ण खर्च  चलचित्र विकास बोर्डले ब्यहोर्ने भएको छ ।   श्रेष्ठको पार्थिव शरीरको सम्मानका साथ अन्त्येष्टि गरिने र खर्च  बोर्डले ब्यहोर्ने बोर्डका अध्यक्ष धर्मेन्द्र मर्वेताद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।   अभिनेता श्रेष्ठको पार्थिव शरीर सोमबार विमानमा राखी नयाँदिल्लीबाट अपराह्न १ बजे स्वदेश ल्याई सिनामङ्गल, तीनकुने, नयाँबानेश्वर, माइतीघर, सिंहदरबार हुँदै कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान पुर्याइने जनाइएको छ । श्रद्धाञ्जलिका लागि  श्रेष्ठको पार्थिव शरीर प्रज्ञा–प्रतिष्ठानमा दुई घन्टा राखेर साँझ साढे पाँच बजे अन्त्येष्टिका लागि कमलपोखरी, ज्ञानेश्वर, रातोपुल, गौशाला हँुदै पशुपति आर्यघाट पुर्याइने बताइएको छ । श्रेष्ठको नयाँदिल्लीस्थित गङ्गाराम अस्पतालमा आज बिहान ५ बजे निधन भएको थियो । निमोनियाको सङ्क्रमण देखिएपछि उनी उपचारका लागि अस्पताल भर्ना भएका थिए । चलचित्र निर्देशक आकाश अधिकारीका  अनुसार श्रेष्ठलाई एक हप्ता पहिला बोन क्यान्सर भएकामा पहिलो किमो लिएको र शनिबार दोस्रो किमो लिन नसकेपछि निधन भएको हो ।