संविधानसभाका टोली र मोर्चाबीच पाँचबुँदे सहमति

साउन २५,  जनकपुर ।

संविधानसभा, संवैधानिक राजनीतिक संवाद तथा सहमति प्रारम्भिक वार्ता उपसमिति र संयुक्त जनतान्त्रिक तराई मुक्तिमोर्चाबीचको वार्ता पाँचबुँदे सहमति गर्दै आज सम्पन्न भएको छ । वार्तामा मोर्चा शान्तिपूर्ण ढङ्गले अगाडि बढ्ने, दुवै पक्षबीच विगतमा भएका सहमतिहरू कार्यान्वयन गराउन उपसमिति गम्भीर हुने र नेपाल सरकारको ध्यानाकर्षण गराउने, सहमतिका विषयहरू संविधानसभामा छलफलका लागि राख्ने सहमति भएको छ । यसैगरी मोर्चासँग रहेको सात थान हतियार कपिलवस्तु जिल्ला प्रशासन कार्यालयमा बुझाउने तथा हतियार बुझाउने क्रममा सरकारले सुरक्षाको प्रत्याभूति र मोर्चाका बन्दी कार्यकर्ता रिहाइका लागि आवश्यक पहल गर्ने दुवै पक्षबीच सहमति भएको मोर्चाका वार्ताटोली संयोजक कौटिल्य शर्मा भनिने संजयकुमार गुप्ताले जानकारी दिए । त्यसैगरी मोर्चाले अब निर्माण हुने संविधानमा सहयोग पुर्याउनेसमेत सहमति भएको शर्माले उल्लेख गरेका छन् । जनकपुरको एक होटलमा भएको वार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै शर्माले वार्ताको क्रममा आफूहरूले सरकारलाई हतियार बुझ्न प्रस्ताव गरेको बताए । मोर्चाको तर्फबाट शर्माले र संविधानसभा अन्तर्गतको उपसमितिका तर्फबाट संयोजक सभासद आनन्दप्रसाद ढुङ्गानाले वार्ता टोलीको नेतृत्व गरेका थिए । वार्तामा मोर्चाका तर्फबाट केन्द्रीय सदस्य नसिम अन्सारी तथा संविधानसभा, उपसमितिका तर्फबाट सभासद्हरू सर्वेन्द्रनाथ शुक्ला, अशोक राई र शक्ति बस्नेत व सहभागी हुनुहुन्थ्यो । दुई पक्षबीच वार्ता चलि रहँदा होटल परिसरमा कडा सुरक्षा अपनाइएको थियो । वार्तामा तराईमा सक्रिय रहेका नौ भूमिगत समूह सहभागी हुने बताइए पनि अहिलेसम्म कौटिल्य शर्माको समूह मात्र वार्तामा सहभागी भएको छ ।