चरीले केपी ओलीलाई पनि धम्क्याएको खुलासा !

साउन २६, काठमाडौँ  -लामो समयदेखि प्रहरीले खोजिरहेको ‘दादा’ दिनेश अधिकारी ‘चरी’ २१ साउनमा काठमाडौंको भीमढुङ्गामा फिल्मी शैलीमा मारिएपछि ‘न्यायिक’ र ‘गैर–न्यायिक’ हत्याको बहस छेडिएको छ । ‘घटनास्थल’ मा प्रहरीले सञ्चारमाध्यमलाई दिएको विवरण र त्यसपछि प्रहरी अधिकृतहरूले गरेको दाबी ‘घटनास्थल’ को अवस्थासँग नमिल्दा त्यो ‘मुठभेड’ नभई नियोजित ‘इन्काउन्टर’ भएको आशंका बलियो बनेको छ ।

सीतापाइलाबाट करीब ७ किमी टाढाको नर्सरीभञ्ज्याङ सामुदायिक वनको सडक मोडमा ‘चरी’ को शवसँगै बा४९प ३११२ नम्बरको मोटरसाइकल, हेलमेट र पेस्तोल बरामद भएको थियो । ‘चरी’ को दाहिने छाती, देब्रे कोखा र पेटमा गोली लागेको देखिन्छ, तर शव र त्यस वरपर रगत देखिएन । शव नजिक भेटिएका ८ वटा खोकाले त्यहाँ ८ राउन्ड गोली चलेको देखाउँछ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम कार्कीले मोटरबाइकलाई पिछा गर्दै जाँदा महानगरीय प्रहरी अपराध महाशाखा, हनुमानढोकाका डीएसपी मीरा चौधरीको टोलीमाथि बाइकबाटै गोली प्रहार भएपछि जवाफी कारबाहीमा ‘चरी’ मारिएको ‘घटनास्थल’ पुगेका सञ्चारकर्मीहरूलाई बताएका थिए ।

तर, बाइकमा हुँइकिएको व्यक्तिले पछाडि फर्केर गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले दागेको गोली उसको छातीमा लागेको विवरण अपत्यारिलो छ । नेकपा एमालेका सभासदहरूले घटनास्थलमा रगत नभेटिनु र भिडन्तमा मारिएको दावी गर्ने प्रहरी अधिकृतहरूको भनाइ नै नमिल्नुले ‘चरी’ लाई अन्यत्रै गोली हानेर भीमढुङ्गामा शव सार्वजनिक गरेको आरोप लगाउँदै आएका छन् ।

हुन पनि, एसएसपी कार्कीको भनाइ अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्कीकै दाबीसँग मिल्दैन । महाशाखाका एसएसपी कार्की प्रहरी टोलीमाथि गोली प्रहार भएपछि गरिएको जवाफी कारबाहीमा ‘चरी’ मारिएको दाबी त गर्छन्, तर हेलमेट लगाएकाले मोटरसाइकलमा सवार व्यक्ति ‘चरी’ हुन् भनेर पहिले थाहै नभएको बताउँछन् । “सोही दिन अर्का ‘दादा’ अभिषेक गिरीलाई ललितपुरमा पक्राउ गर्न जाँदा कुनै प्रतिकार नगरेकाले अप्रिय घटना भएन”, एसएसपी कार्कीले भने, “तर, भीमढुङ्गामा भने एउटा नागरिकको ज्यान जाँदा मलाई दुःख लागेको छ ।”

तर, यो अप्रिय घटनाले चार/पाँच वर्षमै रु.४/५ करोड, गाडी, घरजग्गा जोड्ने गलत सपना देख्नेहरूलाई निरुत्साहित गरेको उनले बताए । पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नवराज ढकाल अपराध गतिविधि मौलाइरहेको समाजमा यो घटनाले दीर्घकालीन प्रभाव पार्ने देख्छन् । यो घटनाले आम जनतामा सुरक्षाको भावना सञ्चार गराएको र आपराधिक गतिविधिमा लागेकाहरूमा नसुध्रिए यस्तै नियति भोग्नुपर्छ भन्ने सन्देश दिएको पूर्व एआईजी ढकालको भनाइ छ ।

राजनीतिको शिकार

२०६० सालदेखि राजधानीको आपराधिक गतिविधिमा सक्रिय धादिङका दिनेश अधिकारी त्यसको केही वर्षमै ‘चरी’ उपनामबाट कुख्यात थिए । शुरूमा नेपाली कांग्रेसको संरक्षण लिएका उनी पछिल्लो समय एमालेको आश्रयमा थिए । हालैका महीनाहरूमा भने पार्टीबाट आफ्नो बचाउ नभएको भनेर उनी निकै आक्रोशित थिए । पहिले एमाले नेता ओलीको राजधानी भित्र या बाहिरको कार्यक्रमहरूमा ‘चरी’ आफ्नो दस्ता लिएर तैनाथ हुन्थे । ओली राजधानी आउजाउ गर्दा उनी गाडीको लस्करका साथ स्वागत र बिदाइ गर्न विमानस्थल पुग्थे । आफूसँग भेट्नेहरूसँग ‘चरी’ भन्थे, “बूढा (ओली) प्रधानमन्त्री मात्रै बनून्, सबलाई देखाइदिन्छु ।”

dinesh-adhikari-chari

गएको १४ पुसमा काठमाडौंको सोह्रखुट्टेमा धादिङकै राधे भण्डारी नामका ‘दादा’ माथि तरबार प्रहार गरेर फरार भएदेखि प्रहरी ‘चरी’ को खोजीमा थियो । शुरूमा राधे र ‘चरी’ एउटै ग्याङमा थिए । ‘चरी’ कांग्रेस छाडेर एमालेमा लागेपछि भने राधेसँग दुस्मनी भएको थियो । २२ असार २०७० मा धादिङबाट काठमाडौं आउँदै गर्दा नैकापमा आफूलाई गोली हानेर घाइते बनाएको बदलामा ‘चरी’ ले राधेमाथि खुकुरी प्रहार गरेका थिए ।

गएको ४ माघमा ललितपुरको धापाखेल हाइटमा नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका ‘दादा’ मीनकृष्ण महर्जन र मिलन सिलवाललाई लक्षित गरी ‘चरी’ ले नै गोली हानेको प्रहरीको भनाइ छ । त्यो घटनापछि दिल्ली भागेका ‘चरी’ त्यहाँबाट गोवाहुँदै सिंगापुर पुगेका थिए । “त्यो बेला उपचारका लागि दिल्लीमा रहेका केपी ओलीलाई ‘चरी’ ले अस्पतालमै भेटेर आफ्नो केस सल्टाइदिन अनुरोध गरेका थिए”, स्रोत भन्छ ।

स्रोतका अनुसार, अहिले एमाले सरकारमा पुग्दा, पार्टी नेता गौतम गृहमन्त्री बन्दा र स्वयम् ओली पार्टीका शक्तिशाली अध्यक्ष हुँदा समेत आफू भागी–भागी हिंड्नुपरेकोमा ‘चरी’ क्रूद्ध थिए । उनले आफ्नो लागि केही नगरेको भन्दै फोनबाट तथानाम भन्न थालेर ओली र एमाले युवा संघका अध्यक्ष महेश बस्नेतसँगको सम्बन्ध बिगारेका थिए । स्रोत भन्छ, “पिएका बेला उनले ओलीलाई समेत बाँकी नराख्ने धम्की दिन थालेका थिए ।”

विभिन्न केसमा पटक–पटक समातिएका ‘चरी’ राजनीतिक शक्ति लगाएरै धरौटीमा रिहा हुन्थे । राधे भण्डारीमाथि तरबार प्रहार गरेपछि प्रहरीले ‘चरी’ लाई समातेर हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो । त्यसमा पनि उनी धरौटीमा छुटे । त्यसअघि उनी रकम असुली र सांघातिक आक्रमणदेखि खाग तस्करीसम्मको केसमा पक्राउ पर्दै, छुट्दै आएका थिए । हिमाल खबर पत्रिकाले छापेको   छ  ।