नेपाल इबोला भाइरसको उच्च जोखिममा

साउन  २५, काठमाडौँ  – पश्चिम अफ्रिकामा महामारीको रुप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ । तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन् ।

विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा। रवि काफ्लेले काममा लागि अवैध रुपमा अफ्रिकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए ।

इबोलाले पश्चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकका एक हजार सात सय जनाको ज्यान लिइसकेको अन्नपूर्ण पोस्टमा खबर छ । इबोला नियन्त्रणमा आउन नसकेपछि विश्व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ ।

इबोला संक्रमण भएको १४ देखि १४ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्तिलाई पनि सर्ने सम्भावना उच्च रहेको काफ्लेले बताए । इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेका छन् ।
विदेश आपतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेक्स नभएका कारण पनि इबोला भित्रिन सक्ने सम्भावना प्रबल रहेको विज्ञको भनाई छ । युरोपेली र एसियाली मुलुकमा पनि इबोलाका शंकास्पद विरामी भेटिन थालेका छन् । ‘अमेरिका, बेलायत, मोरोक्को, भारतलगायतका मुलुकमा समेत इबोलाको संक्रमण भएको आशंकामा बिरामीको उपचार सुरु गरिएको छ,’ काफ्लेले भने ।