अर्जेन्टिनाद्धारा अमेरिकी न्यायालयको मानहानि

साउन २४, काठमाडौँ ।

अर्जेन्टिनाको अमेरिकी दुई जोखिमयुक्त कोषसँग ऋण विवादका विषयमा सुनुवाइ गरिरहेका अमेरिकी जिल्ला न्यायाधीश थोमस ग्रिसाले शुक्रबार अर्जेन्टिनाले गलत र भ्रामक विज्ञप्ति प्रकाशन गरेको दाबी गर्दै मुलुकविरुद्ध नै अदालतको मानहानि गरेको घोषणा गर्न सकिने चेतावनी दिएको छ ।  जोखिमयुक्त कोषबाट लिइएको १.३ अर्ब अमेरिकी डलर बराबर ऋण नतिरेसम्म ऋण पुनर्संरचना गर्न न्यायाधीश ग्रिसाले अर्जेन्टिनालाई प्रतिबन्ध लगाउनुभएको थियो भने यसो गरि उहाँले आफ्नो क्षेत्राधिकार नाघेको आरोप यस मुलुकले लगाएको थियो ।

न्यायाधीश ग्रिसाको निर्णयका कारण गत १३ वर्षमा यो ऋण दोस्रो पटक पनि तिर्न नसक्दा अर्जेन्टिना सरकारले यस विषयमा बिहीबार न्यु योर्क टाइम्स तथा वाल स्ट्रिट जर्नलमा दुई पृष्ठको विज्ञापन प्रकाशन गरेको थियो । उक्त विज्ञापनलाई कानुनी सूचनाको रूपमा प्रकाशन गरिएको थियो । त्यसमा ऋणदातालाई न्यायाधीशले प्रतिबन्ध लगाउनुभएको बैङ्क अफ न्यु योर्क मेलनलाई फेर्न आग्रह गरिएको छ ।

यस बैङ्कमा तिरिएको ५३ करोड ९० लाख रकम रोकिएको छ ।  न्यायाधीशले यस प्रकारको भ्रामक विज्ञप्ति थप प्रकाशन नगर्न चेतावनी दिँदै यस विषयमा सुनुवाइ हुने बताउनुभएको छ ।  उहाँले यस विषमा अर्जेन्टिना सरकारले ध्यान नदिएमा अदालतको मानहानि भएको विषयमा बिचार गर्न सकिने बताउनुभएको छ ।  यसमा प्रमाणित भएमा अर्जेन्टिना सरकारमाथि जरिवाना लाग्नसक्छ ।

    यो अदालती झमेला अर्जेन्टिनाले सन् २००१ मा आर्थिक सङ्कटको समयमा ऋण तिर्न नसक्दा आरम्भ भएको हो । त्यस समयमा यस मुलुकले करिब १० करोड अमेरिकी डलर ऋण तिर्न सकेको थिएन ।  यस मुलुकले ऋणदातालाई ७० प्रतिशत ऋण माफी गर्न सन् २००५ र २०१० मा मनाएको थियो ।  एनएमएल क्यापिटल तथा औरेलिस क्यापिटल म्यानेजमेन्टले अर्जेन्टिनाको ऋण तिर्न बाँकी रहेको अवस्थामा निकै सस्तो दरमा किनेका थिए र उनीहरूले ऋण पुनर्संरचना योजनालाई अस्वीकार गरी अदालतमा मुद्दा दायर गरेका छन् ।