तीन विधेयक सर्वसम्मतिले स्विकृत

साउन २१, काठमाडौँ  –  व्यवस्थापिका–संसदको आजको बैठकले बोक्सीसम्बन्धी (कसूर र सजाय) विधेयक २०७१ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको  छ ।  सभामुख सुवासचन्द्र नेम्वाङले बैठकमा सो प्रस्ताव राखेका थिए ।

आजको बैठकमा उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले पेस गरेको स्थानीय स्वायत्त शासन (पहिलो संशोधन) विधेयक २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत समेत गर्यो ।

यसैगरी, बैठकले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्न केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०७१ र केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक २०७१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई पनि सर्वसम्मतिले स्वीकृत गर्यो ।      कानून, न्याय, संविधान तथा संसदीय व्यवस्थामन्त्री नरहरि आचार्यले तीे प्रस्ताव प्रस्तुत गरेका थिए ।