बेपत्ता सबै मृतक घोषित

साउन २१, सिन्धुपाल्चोक –  शनिबार सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोमा परी बेपत्ता १२३ जनालाई सरकारले मृतक घोषणा गरेको छ ।  खोजी कार्य गर्न सम्भव नभएको र बेपत्ताका परिवारले कुशको शव बनाएर सामूहिक दाहसंस्कार गरिसकेकाले जिल्ला दैवी प्रकोप उद्धार समितिले बेपत्ता सबैलाई मृतक घोषणा गरेको हो ।

बेपत्ता १५६ जनामध्ये मङ्गलबारसम्म ३३ शव फेला पारेको थियो ।  पहिरोले पुरिएर ताल बनेको सुनकोसी नदीको बहाव हिजोकै अवस्थामा भएको र आज थप कुनै सुधार हुन नसकेको प्रहरी नायब उपरीक्षक भरतबहादुर बोहोराले जानकारी दिए । जिल्ला दैवी प्रकोप उद्धार समितिले हिजोदेखि राहत वितरण सुरु गरेको छ ।

प्रत्येक मृतकलाई रु ४० हजारका दरले ४३ मृतकका परिवार र क्षतिग्रस्त प्रतिघरको पाँच हजारका दरले ३६ घर परिवारलाई खाद्यान्नलगायत उद्धार सामग्री वितरण भइसकेको समितिले जनाएको छ । क्षतिग्रस्त अरनिको राजमार्ग खुलाउने विषयमा आजै भौतिक योजना तथा पूर्वाधार मन्त्री विमलेन्द्र निधिले स्थलगत निरीक्षण गरेका थिए ।