महिलाको समान सहभागिता हुनुपर्छ–मन्त्री रिजाल

साउन २१, काठमाडौँ  –   सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले जनसङ्ख्याका आधारमा स्थानीय निकायमा महिलाको समान सहभागिता हुनुपर्ने बताएका छन् । महिला र राजनीति राष्ट्रिय समन्वय समितिद्वारा आज यहाँ आयोजित ‘शक्ति संरचना र महिला सहभागिता’ विषयक अन्तक्र्रियामा उहाँले महिलालाई नेतृत्व तहमा पुर्याउन जनसङ्ख्याका आधारमा स्थानीय तहबाटै महिलाको समान सहभागिताको काम सुरु गर्नुपर्ने बताए ।

मन्त्री रिजालले राजनीतिक नेतृत्व तहमा महिला सहभागितालाई व्यावहारिक रुपमै कार्यान्वयन गर्न ठूला–साना सबै राजनीतिक दल गम्भीर हुुनुपर्ने बताए । उनले महिलामाथिको विभेद नेतृत्व तहमा एक–दुईजना सहभागी हुँदैमा अन्त्य नहुने र  अन्त्य गर्न भाषणमा नभै व्यावहारिक रुपमै घरघरबाट सुरु गरिनुपर्ने बताए । महिलामाथि हुने विभद अन्त्य गर्न नियम, कानुन र राज्यको संरचना नै परिर्वतन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सभासद् शान्ता मानवीले महिलाले पार्टीभित्र, संसद र सडकमा मात्र नभएर घरमा समेत सङ्घर्ष गर्नु परेको गुनासो गरे । मधेसी जनअधिकार फोरम लोकतान्त्रिक०का केन्द्रीय सदस्य गीता चौधरीले महिलामाथि हुने हरेक प्रकारका विभेद अन्त्य गर्न सम्पूर्ण महिला एकीकृत हुनुपर्ने धारणा व्यक्त गरे । समितिका अध्यक्ष दुर्गा घिमिरेले महिला, दलित, मधेसीलगायतको अधिकार प्राप्त गर्न राजनीतिक मूल्य र मान्यतामै आमूल परिवर्तन हुनुपर्नेमा जोड दिइन् ।