सभासदको नजर पहिरो पिडितमा

 साउन २१, काठमाडौँ –  व्यवस्थापिका–संसद्को आजको बैठकमा समय माग गर्दै सभासदहरूले देशका समसामयिक घटनाका बिषयमा आफ्नो धारणा राखेका छन् ।  एकीकृत नेकपा माओवादीका प्रभू साहले तराईका केही स्थानमा हचुवाको भरमा मालपोत र नापी कार्यालय सार्ने काम गरिएकामा आपत्ति जनाए ।

राप्रपाकी आनन्दी पन्तले महाकाली अञ्चलका बासिन्दा प्रत्येक वर्ष वर्षायाममा दोधारा र चाँदनी नदीको कटानबाट पीडित हुँदै आएकाले प्रभावित क्षेत्रमा नदी नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराइन् । सभासद भक्तबहादुर विक खपाङ्गीले बृद्धबृद्धाको माग पूरा गर्न र वीर अस्पतालको आन्दोलन रोकी त्यहाँ उपचारको व्यवस्था मिलाउन जोड दिए ।

सभासद डिल्लीप्रसाद काफ्लेले न्यायालयका कर्मचारी र न्यायाधीशले न्याय दिलाउने काममा ढिलासुस्ती गरी आर्थिक चलखेल गर्ने चर्चा बढेकाले नियन्त्रण गर्न तथा खाद्यान्नमा भएको मिसावट रोक्न माग गरेका छन् ।