कुष्ठरोगीलाई घर निकाला

साउन २०,  बर्दिया  – कुष्ठरोग पीडित एक महिलालाई बर्दियामा घर निकाला गरिएको छ ।  जिल्लाको मगरागाडी गाविस वडा नं २ पत्थरडाँडा निवासी ६१ वर्षीया कुष्ठरोग पीडित सोनपतिया थारुलाई आफ्नै छोरा बुहारीले घर निकाला गरेका हुन् । सानै उमेरदेखि नै कुष्ठरोगबाट पीडित सोनपतियालाई उहाँका एकमात्र छोरा अमित र बुहारी रामपतिले घर निकाला गरेको पीडित सोनपतियाले बताए ।

 छोरा बुहारीले घर निकाला गरेपछि दाजु बहादुर थारुले बस्नका लागि दिएको ऐलानी जग्गामा सानो घर बनाएर श्रीमान्सँग बस्दै आएको सोनपतियाले बताए । छोराको विवाह नहुन्जेलसम्म सँगै रहेकी सोनपतियालाई छोराको विवाहपछि छोरा र बुहारीले घृणा गरेका हुन् । आफूलाई दिनहुँजसो खाना माग्दा थालमा खरानी, गोबर र माटो हालिदिने र घरबाट निकाल्ने गरेको दुःखेसो उनको  छ ।

सोनपतियाका दुवै हात र गोडाले काम गर्दैन । छोरा बुहारीले घर निकाला गरेपछि आफ्नो जीवन कष्टकर बन्दै गएको र औषधोपचारका लागिसमेत रकम नभएको उहाँले दुःखेसो पोख्नुभयो ।      औषधोपचार हुन नसक्दा पटकपटक हातखुट्टा पाक्ने समस्याले उहाँलाई सताइरहेको छ । निलो रङ्गको परिचयपत्र पाएकी सोनपतियाले सरोकारवाला निकायसँग रातो रङ्गको परिचयपत्र दिलाइदिन र नभए विष दिन आग्रहसमेत गरेका थिए ।

यसैबीच, रोजगारीको प्रलोभन देखाई भारत लैजाँदै गरेका दुई स्कुले बालिकालाई बर्दियाको गणेशपुरसँग जोडिएको भारतीय सीमा लैकाहीबाट उद्धार गरिएको छ । बर्दिवा मोतीपुरकी १४ वर्षीया विन्दु चौधरी र १५ वर्षीया भारती चौधरीलाई साथी संस्थाका स्वयम्सेवक, प्रहरी र स्थानीय जनताको सक्रियतामा उद्धार गरी नेपाल फर्काइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।