चमेलीया जलविद्युतको निर्माणकार्य अझै अबरुद्ध

साउन २०,  दार्चुला – गएको जेठदेखि ठप्प भएको निर्माणाधिन चमेलीया जलविद्युत आयोजनाको निमार्ण कार्य अझै सुचारु हुन सकेको छैन्  । सिभिल निर्माणको ठेक्का पाएको चिनीया कम्पनी चाईना गेजुवा ग्रुप अफ पावर कम्पनी सिजिजीसीले सम्झौता अनुसार नेपाल विद्युत प्रधिकरणले समयमा भुक्तानी नगरेको भन्दै २ महिना अघिदेखि निर्माणकार्य ठप्प पारेको हो ।

सिभिल निर्माण बन्द हुदाँ कोरीयन कम्पनीको ईलेक्ट्रो मेकानिकल कार्यसमेत प्रभावित बनेको छ । चिनिया कम्पनी सिजिजीसीले करिब साढे चार किलोमिटर सुरुङ निर्माणलगायतको ९५ प्रतिशत सिभिल निर्माण कार्य सम्पन्न गरेको चमेलीया जलविद्युत आयोजनाले जनाएको छ ।

करिब १३ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको आयोजनाको सन् २००७ मा निर्माण कार्य सुरु भएको थियो भने डिसेम्बर सन् २०११ सम्पन्न गर्ने लक्ष रहेको थियो । तर, विविध कारणले तोकिएको समय भित्र आयोजना सम्पन्न हुन नसक्दा पटक–पटक म्याद थप हुँदै आएको छ ।

पछिल्लो समय मार्च २०१५ सम्म आयोजना सम्पन्न गर्ने गरी म्याद थप भएको छ । निर्माण कार्य अन्तिम चरणमा पुगेका बेला चिनिया कम्पनीले गरेको बन्दले निर्धारित समय भित्र आयोजना सम्पन्न हुनेमा शंका उब्जाएको छ ।