अख्तियारद्धारा कर्मचारी निलम्बन गर्न निर्देशन

साउन २०,  काठमाडौँ  –   दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका कर्मचारी र भन्सार एजेन्टबीचको मिलेमतोमा जाँचपास गरी अनियमितता गरेको आरोपमा दुई कर्मचारीलाई निलम्बन गर्न अर्थमन्त्रालयलाई निर्देशन दिएको छ ।

आयोगले विराटनगर भन्सार कार्यालयका भन्सार अधिकृत शान्तिराम निरौला र नायब सुब्बा रुपककुमार पोखरेललाई निलम्बन गर्न सिफारिस गरिएको जनाएको छ ।

 उनीहरूले भन्सार एजेन्टसँग मिलेमतो गरी विदेशबाट आयात गरिएका मालसामानको मूल्याङ्कन र जाँचपास गर्दा गलत घोषणा गरेको, फरक एवम् न्यून मूल्याङ्कन गरी अनियमितता र भ्रष्टाचार गरेको देखिन आएकाले कारबाही गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उनीहरूलाई पदमा नै बहाल गरी राख्ने हो भने आफू विरुद्धका प्रमाण नष्ट गर्ने र अनुसन्धानमा समेत बाधा पुग्ने भन्दै आयोगको ऐन २०४८ को दफा १९ को उपदफा ३ बमोजिम निलम्बन गर्न अर्थ मन्त्रालयलाई निर्देशन दिइएको हो ।