दोधारामा राहत वितरणमा समस्या

साउन १८, दार्चुला  – बाढी विस्थापित परिवारहरूले विरोध जनाएपछि महाकाली नदीपारि दोधारामा राहत रकम वितरणमा कठिनाइ भएको छ ।  जिल्ला दैवी प्रकोप उद्धार समितिले राहत वितरणमा सबै पीडितलाई नसमेटेको भन्दै उनीहरुले विरोध जनाएपछि राहत वितरणमा समस्या भएको छ ।

समितिले दोधारा गाविस वडा नं ८ र ९ मा बाढी विस्थापित ३५० घरधुरीमध्ये आठ परिवारका लागि मात्रै राहत रकम पठाएको पीडितहरुले गुनासो गरेका छन् । दोधारा गाविसका सचिव त्रिलोक चन्दका अनुसार विस्थापितबाट विरोध आएपछि वितरण गर्न कठिनाइ भएको छ ।  उनले आठ परिवारलाई मात्रै राहत वितरण गरेपछि समस्या उत्पन्न हुनसक्ने बताए । सचिव चन्दका अनुसार राहत वितरणमा देखिएको समस्या समाधान गर्न स्थानीय राजनीतिक दलसँग छलफल थालिएको छ ।

दलहरूले प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरी राहत वितरण गर्नुपर्ने सुझाव दिएका छन् । दुई साताअघि महाकाली र जोगबुडा नदीमा आएको बाढीले उक्त वडाका स्थानीय विस्थापित भएका थिए ।  बाढीले घर क्षतिग्रस्त बनाउनुका साथै खाद्यान्न बगाएर लैजाँदासमेत स्थानीयले प्रशासनबाट राहत पाउन नसकेको दुःखेसो पोख्दै आएका छन् ।