एसएलसी पूरक परीक्षाको तयारी पूरा

साउन १८, भक्तपुर –  परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यही साउन अन्त्यमा  सुरु गर्ने एसएलसी पूरक परीक्षाको सम्पूर्ण तयारी पूरा गरेको छ । विसं २०७० को एसएलसी परीक्षामा दुई विषयसम्म अनुत्तीर्ण हुने परीक्षार्थीका लागि सञ्चालन गर्ने मौका परीक्षाको सम्पूर्ण तयारी पूरा भएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए । परिक्षा साउन  २० गते मङ्गलबारदेखि सुरु गर्ने कार्यालयले जनाएको  छ ।

 कुल एक लाख २० हजार ६२७ जना परीक्षार्थी सहभागी हुने परीक्षाका लागि कार्यालयले देशभर कुल २३४ परीक्षा केन्द्र निर्धारण गरेको छ । परीक्षाका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्ला जिल्लामा पुर्याइसकिएको बताउँदै उहाँले पूरक परीक्षाको परीक्षा केन्द्र सदरमुकाम केन्द्रित गरिएको जानकारी दिए ।  परीक्षामा सबभन्दा बढी अनिवार्य गणित विषयमा ६८ हजार २३०, विज्ञान विषयमा ५० हजार ७१९ र अनिवार्य अङ्ग्रेजी विषयमा ३३ हजार ७७ जना परीक्षार्थी सहभागी रहने छन् । त्यस्तै ऐच्छिक गणितमा १० हजार ६३९, सामाजिक शिक्षामा १७ हजार १६४, नेपालीमा दुई हजार २९१ परीक्षार्थी छन् ।

परीक्षा नियन्त्रक द्वारेका अनुसार एक विषयमात्र परीक्षा दिने परीक्षार्थी ५४ हजार ३९२ जना र दुई विषयको परीक्षा दिने परीक्षार्थी ६६ हजार २३५ जना रहेका छन् ।     कार्यालयका अनुसार साउन २० गते अनिवार्य अङ्ग्रेजी र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत व्याकरण र अनुवाद, २१ गते अनिवार्य नेपाली र गैरनेपाली परीक्षार्थीका लागि अङ्ग्रेजी, २२ गते अनिवार्य गणित, २३ गते अनिवार्य विज्ञान र वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्य, २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा तोकिएको छ ।

त्यसैगरी २५ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेद विद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, संस्कृततर्फ अनिवार्य संस्कृत भाषा, २६ गते ऐच्छिक प्रथमपत्रका सबै विषयहरु र २७ गते ऐच्छिक द्वितीय पत्रका सबै विषयको परीक्षा सञ्चालन गर्ने भएको छ ।  परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा साउन २७ गते सम्पन्न हुनेछ ।