सप्तरी आसपासका स्थानीयलाई पनि सचेत भएर बस्न आग्रह

साउन १७, सप्तरी –

सुनकोसी नदीमा पहिरो खसेपछि थुनिएको पानीको बहाव सप्तकोसीमा आउने खतरा देखिएपछि सप्तकोसी नदी छेउछाउमा पर्ने सप्तरीका विभिन्न गाविसका स्थानीयलाई उच्च सतर्क भएर बस्न आग्रह गरिएको छ । सुनकोसीको बहाव थुनिएपछि त्यसको पानी सप्तकोसी नदीमा आएर ठूलो धनजनको क्षति हुने खतरा देखिएपछि स्थानीय प्रशासनले सप्तकोसी नदीको छेउछाउका गाविसका स्थानीयवासीलाई सचेत भएर बस्न आग्रह गरेको छ ।

सप्तकोसी नदीमा पानीको बहाव बढेपछि सप्तकोसी नदीको बीच भागमै पर्ने सप्तरीको गोबरगाढासहित रम्पुरा मल्हनियाँ, बसाइन, भारदह, २ नम्बर योगिनियाँ, १ नम्बर योगिनियाँ, हनुमाननगर, इनरुवालगायतका गाविसमा ठूलो क्षति पुर्याउन सक्ने सम्भावना रहेको कोसीपीडित समाज सप्तरीका अध्यक्ष देवनारायण यादवले बताए ।

सुनकोसी नदीको पानीको बहाव सप्तकोसीमा आए कोसी ब्यारेजलाई थाम्न नसक्ने भएकाले सप्तकोसी नदीको चतरा र कोसी ब्यारेजलगायतका स्थानमा नेपाली सेनाको प्राविधिक टोली र इन्जिनियरहरुको टोलीलाई तयारी अवस्थामा राखिएको प्रजिअ बीरेन्द यादवले बता ।

यता सप्तकोसी ब्यारेजको कन्ट्रोल शाखाका अनुसार अहिले सप्तकोसी नदीमा एक लाख ३२ क्युसेक प्रतिसेकेन्ड पानीको बहाव रहेको छ । सप्तकोसी नदी यतिको पानीको बहावले मात्र केही क्षति नपुर्याए पनि त्योभन्दा बढी पानीको बहाव भएमा मात्र खतरा हुन सक्ने सम्भावना रहेको सप्तकोसी नदी कन्ट्रोल शाखाले जनाएको छ ।