रिम्पोछेको अन्त्येष्टि नेपालमा गर्न सकिने

साउन १३ , काठमाडौं  ।

मन्त्रिपरिषद्को आजको बैठकले विदेशी मुलुकका नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि गर्न अनुमति दिन सकिने नीतिगत व्यवस्था गरेको छ । विदेशी नागरिकको पार्थिव शरीर नेपालमा ल्याई अन्त्येष्टि  गर्न अनुमति दिने सम्बन्धमा स्पष्ट कानुनी व्यवस्था नभएको स्थितिमा सरकारले यस्तो निर्णय गरेको हो ।

निर्णयअनुसार नेपालको धार्मिक र  सांस्कृतिक विकासमा योगदान पुर्याएका ऐतिहासिक व्यक्तिले मृत्युपूर्व नेपालमा अन्त्येष्टिका लागि इच्छ्याएमा उसको पार्थिव शरीर विदेशबाट नेपाल ल्याउन सकिनेछ ।

बैठकपछि नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले दिनुभएको जानकारीअनुसार त्यसरी पार्थिव शरीर ल्याउँदा सरकारले तोकेको स्थानमा मात्र अन्त्येष्टि गर्नुपर्ने र नेपालको कानुन, संस्कृति, परम्परा तथा सामाजिक सद्भावमा खलल नपुर्याई अन्त्येष्टि गर्नुपर्ने सर्त निर्धारण गरेको छ ।

   सो नीतिगत व्यवस्थाका आधारमा सरकारले दिवङ्गत धर्मगुरु श्ह्यार कुनसिंग रिम्पोछेको पार्थिव शरीर नेपालमा ल्याई काठमाडौँको रानीवनस्थित स्यारभन गुम्बा तथा महावीर गोन्छेनको आफ्नै परिसरमा अन्त्येष्टि गर्न दिन अनुमति दिने निर्णय गरेको छ । रिम्पोछेको  गत जेठ २८ गते जर्मनीमा निधन भएको थियो । गुम्बाको निवेदनका आधारमा सरकारले यो निर्णय गरेको हो ।