एसियाली खेलकुद प्रतियोगिताको प्रशिक्षण सुरु

साउन १०, काठमाडौँ –  नेपाल कराते महासङ्घले दक्षिण कोरियाको इन्चोनमा हुने १७औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत कराते खेल तयारीका लागि विदेशी प्रशिक्षक झिकाएको छ ।     एसियाड तयारीका लागि खेलाडीलाई प्रशिक्षण दिन विदेशी प्रशिक्षक मोनाकोका एन्जेलो स्पाटारोलाई झिकाइएको कराते महासङ्घका अध्यक्ष दावा गुरुङले जनाकारी दिए । हिजोदेखि दशरथ रङ्गशालामा सुरु प्रशिक्षण २० दिनसम्म चल्नेछ । स्पाटारोले यसअघि नेपालमै भएको आठाँै दक्षिण एसियाली खेलकुदमा कराते टोलीलाई प्रशिक्षण दिएका थिए ।     त्यो प्रतियोगितामा नेपालले करातेमा १४ स्वर्ण, एक रजत र एक कास्यपदक हात पारेको थियो । प्रशिक्षक स्पाटारोले १२ औं र १३ औं एसियाली खेलकुदमा पनि नेपाली कराते टोलीलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै करातेतर्फ नेपालले १२ औँ र १३ औं एसियाली संस्करणमा सीता राई र समरबहादुर गोलेले एक÷एक कास्यपदक जितेको थिए । एसियाड तयारीका लागि हाल २१ खेलाडी प्रशिक्षणमा छन् ।  पुरुषतर्फ परशुराम बाँस्तोला, सुनील लामा, विनोद महर्जन, दिवस श्रेष्ठ, मुकुन्द्र महर्जन, सुवास कार्की, डम्बरबहादुर आलेमगर, लेखनाथ मैनाली, सानुकुमार रुम्बा, विजय लामा र दिगम्बरप्रसाद पन्त रहेका छन् ।  यसैगरी, महिलातर्फ गङ्गादेवी अधिकारी, मल्लिका थापा, सनी तामाङ, सुमन लामा, सङ्गीता डङ्गोल, सुभद्रा श्रेष्ठ विभूषा थापा, उर्मिला डिसी, चन्चला दनुवार, र अनु अधिकारी रहेका छन् । उनीहरू गत जेठ २३ र २४ गते चितवनमा भएको एसियाली खेलकुदबाट छानिएका हुन् ।