कोरियामा काम गरेर फर्केका नेपाली फेरी जान पाउने

साउन १०, काठमाडौँ –  दक्षिण कोरियामा काम गरेर स्वदेश फर्किएकालाई फेरी जाने अवसर दिनको लागि भदौ सात गते परिक्षा हुने भएको छ ।

कम्तीमा तीन वर्ष काम गरेर फर्केका तथा १८ वर्ष उमेर पुरा भइ ३९ वर्ष नकटेकाहरु परिक्षामा सामेल हुन पाउने छन् ।वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले १८ देखि २० साउनमा फर्म भर्ने, ३० साउनमा परिक्षा तालिका घोषणा, सात भदौमा परिक्षा र २७ असोजलाई नतिजा प्रकाशनको मिति तोकेको हो । परिक्षार्थीले ह्युमन रिसोर्स डेभलपमेन्ट सभिर्स (एच.आर.डी) अफ कोरियाले सञ्चालन गर्ने छैटौं कम्युटरमा आधारित परिक्षामा सामेल हुनु पर्नेछ ।

उत्पादनमुलक, कृषि तथा पशुपालन, निर्माण, मत्स्यपालन र सेवामुलक क्षेत्रमा काम गर्न फारम भर्न पाइनेछ । कोरियमामा गैर कानुनी नबसेको, फौजदारी अभियोगमा जेल नपरेको, नेपालबाट विदेश जान रोक नलगाएका लगायत योग्यता पनि तोकिएको छ । परिक्षा शुल्क २४ अमेरिकी डलर तोकिएको छ ।