अख्तियारद्धारा प्राधिकरण प्रमुख नियुक्त गर्न निर्देशन

साउन ८, काठमाडौँ – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण लामो समयदेखि निमित्तको भरमा सञ्चालन भइरहेको भन्दै तत्काल कार्यकारी निर्देशक नियुक्ति प्रक्रिया अगाडि बढाउन सरकारलाई निर्देशन दिएको छ । आयोगले आज नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्याललाई एक पत्र लेखी जनतालाई दैनिक सेवा प्रदान गर्नुपर्ने निकाय निमित्तको भरमा सञ्चालन हुनु गलत भएको जनाएको हो ।

मुलुकको आर्थिक विकास र समृद्धिका लागि जलस्रोत क्षेत्रको विकास अपरिहार्य रहेको सन्दर्भमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरणको जिम्मेवारी बहन गर्ने प्राधिकरण लामो समयसम्म नेतृत्वविहीन रहँदा अपेक्षाकृत उद्देश्य हासिल गर्न नसक्ने तथ्यतर्फ आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।

तत्कालीन कार्यकारी निर्देशक रामेश्वर यादव ट्रान्सफर्मर खरिद प्रकरणमा आयोगकै छानबिनमा रहनुभएको र ऊर्जा मन्त्रालयले प्राधिकरणमा नियुक्त गरेको सहसचिव अर्जुनकुमार कार्कीलाई पश्चिमाञ्चल क्षेत्रीय प्रशासकमा पठाएपछि सो पद रिक्त रहँदै आएको छ ।

लामो समयसम्म प्राधिकरणको नेतृत्व निमित्तको भरमा सञ्चालन हुँदा विद्युत् क्षेत्रसँग सम्बन्धित धेरै विषयहरू ओझेलमा परेको र तत्काल निर्णय लिन नसकेको गुनासा आइरहहेका बेला यस सम्बन्धमा आयोगको पछिल्लो धारणा बाहिर आएको हो ।