ऊर्जा सम्झौताबारे प्रस्ट्याउन सरकारसँग माग

साउन ८, काठमाडौँ  –  व्यवस्थापिका–संसद्को बिहिबारको शून्य समयमा सांसदहरूले नेपाल–भारतबीच हुने भनिएको ऊर्जा सम्झौताबारे सदनमा जानकारी दिन सरकारसँग माग गरेका छन्  । सभासदले ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा थप गर्न, स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउन, शिक्षामा लगानी वृद्धि गर्न, आधारभूत शिक्षा निःशुल्क गर्न, पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्य अगाडि बढाउन पनि माग गरेका छन् ।

सुकुम्बासी आयोगलाई दिएको कार्यक्षेत्रले सुकुम्बासी समस्या समाधान नहुने उनीहरुको  धारणा छ । बाढी पहिरो पीडितलाई राहत दिन, नुवाकोटको त्रिशूली नदीमा आएको बाढीले खेतीयोग्य जमिन बगाएकाले सो क्षेत्रमा तटबन्ध बनाउन ध्यानाकर्षण गरेका छन् ।

दुर्गम क्षेत्रका शिक्षकलाई भत्ता दिने व्यवस्था बजेटमै गर्न, हुम्ला र संखुवासभामा पर्याप्त खाद्यान्न पुर्याउन र तरकारीमा विषादीको प्रयोग नियन्त्रण गर्न कृषकलाई तालिम दिन पनि उनीहको माग  छ  ।