बाढीका कारण ६ सय घर, ४ सय परिवार विस्थापित

साउन ५, कञ्चनपुर –

अविरल वर्षासँगै कञ्चनपुरका नदीमा आएको बाढीका कारण झन्डै ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् ।  चार दिनदेखिको अविरल वर्षाले गर्दा महाकाली, जोगबुढा र दोदा नदीको बाढीले डुबानमा परी ती परिवार विस्थापनमा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार महाकाली नदी र जोगबुढा नदीको बाढीका कारण दोधारा–८ र ९ का १५० परिवार विस्थापनमा परेका छन् । विस्थापित परिवारलाई अम्बिका उच्चमाध्यमिक विद्यालयमा बस्ने व्यवस्था मिलाइएको छ ।

भीमदत्तनगरपालिका–१० श्रीलङ्का टोलका बाढीको डुबानमा परेका ५० परिवारको उद्धार गरी महाकाली निमावि तुम्डानीमा बस्ने व्यवस्था मिलाएको प्रहरीले जनाएको  छ । वर्षा र नदीको बाढीको पानीका कारण भीमदत्तनगरपालिका धेरै जसो गाविसका ६०० भन्दा बढी घर डुबानमा परेका छन्  ।