बोलबम मेला सुरु, देशभरका मुख्य मुख्य शिवालयहरुमा भक्तजनको घुइँचो

साउन ५, काठमाडौँ –

साउन महिनाको पहिलो सोमबार आज  हिन्दू धर्मावलम्बीहरु शिव मन्दिरमा पूजा आराधना गरी मनाउदैछन् । साउन महिनाको सोमबार शिवको ब्रत बसे मनले चिताएको पूरा हुने विश्वास रहेकाले देशभरिका शिब मन्दिरमा धर्मावलम्बीको भीड लागेको छ । विशेषगरी काठमाण्डौ पशुपति नाथ, चितवन नवलपरासी र तनहुको संगम स्थल देबघाटमा भक्तजनको भिड लागेको छ ।

चितवनको पवित्र तीर्थस्थल देवघाटधामलगायत विभिन्न शिवालयमा मेला भर्न भारतबाट समेत भक्तजनको घुइचो लागेको  छ । महिनाव्यापी हुने मेलाका लागि सुरक्षा व्यवस्था मिलाउनुका साथै स्नान गर्ने क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाइएको  छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा रहेको देवघाटधाममा यो महिना लाखौँ धार्मिक पर्यटकले भरिने गर्दछ ।

उता चितवनको महाकालेश्वर मन्दिर, गैँडाकोटको गोपेश्वर मन्दिर, माडी, रत्ननगरलगायत क्षेत्रका शिवालयमा पनि सोमबारे मेला अर्थात् बोलबम मेला सुरु भएको छ । महाकालेश्वर शिव मन्दिरमा भने आजदेखि १० दिनसम्म शिवपुराण लगाउन सुरु भएको छ । यो समयमा महिलाहरू हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने गर्दछन् भने पुरुषहरू पनि व्रत बसेर पूजा गर्ने गर्दछन् ।

देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजाआराधना गरे आफ्नो  मनोकामना पूरा भई सुखशान्ति मिल्ने विश्वास छ । मेलामा साउनको हरेक सोमबार निराहार व्रत बसी बिहान सबेरै स्नान गरेर बेलपत्र तथा गङ्गाजल शिवमन्दिरमा चढाउने गरिन्छ । यसरी चढाउँदा विवाहिता महिलाले आफ्नो श्रीमान्को दीर्घायु र परिवारको सुखसमृद्धिको कामना गर्दछन् भने अविवाहिता महिलाले असल श्रीमान्को कामना गर्दा मनोकामना पूरा हुने  विश्वास रहेको छ ।