पारसलाई निर्मल निवास बस्न नदिइने

साउन ५, काठमाडौँ –
थाइल्यान्डमा बस्ने भिसा अवधि समाप्त भएकाले पूर्वयुवराज पारस शाह नेपाल आउने निश्चित भएपछि परिवारमा उनी पुर्नस्थापना हुने संभावना अत्यन्त न्यून देखिएको छ । नेपाल आएपछि पारसले निर्मल निवास बाहिरै बास खोज्नुपर्ने अवस्था रहेको स्रोतले बतायो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

पारसको भिसा अवधि साउन २१ गते समाप्त हुने भएकाले यस अघि नै उनी नेपाल आउने संभावना छ । अहिलेको स्थितिमा उनी पूर्वराजपरिवारमा फर्कने संभावना नभएको निर्मल निवास स्रोतले बतायो । यसबारे पारसलाई पनि जानकारी दिइसकेको छ ।

पत्नी हिमानीसँग तिक्त सम्बन्ध र थाइल्यान्डमा प्रेमिकासँगको सम्बन्धका कारण पनि पारसको सम्बन्ध पूर्वराजपरिवारसँग सौहार्द नरहेको दाबी उनी निकटवर्तीले गरेका छन्  । उनलाई पूर्वयुवराजका रुपमा नेपाल सरकारले दिने गरेको सुरक्षा सुविधा समेत कटौती भइसकेको छ ।

पारस ह्रदयघातका कारण गम्भीर अवस्थामा बैंककस्थित अस्पतालमा भर्ना भएका बेला पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल परिवारका सबै सदस्यसहित त्यसतर्फ गएका थिए । स्रोतका अनुसार त्यहाँको उपचार तथा बसाइका क्रममा मितव्ययी र सामान्य खर्च परिवारबाट प्राप्त भएपनि विभिन्न कारणले पारस र ज्ञानेन्द्रको सम्बन्ध मधुर नभएको अडकलबाजी बाहिर छ ।