मुद्रास्फ्रीति वार्षिक आठ प्रतिशत कायम राखिने

साउन २,  काठमाडौँ –

नेपाल राष्ट्र बैंकले उपभोक्ता मुद्रास्फीति दरलाई वार्षिक औसत आठ प्रतिशत कायम राख्दै छ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख लक्ष्यसहित आर्थिक वर्ष २०७१÷७२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।     राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले कम्तीमा आठ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त हुने विदेशी विनिमय सञ्चिति कायम गर्ने बताए ।     उनले सरकारको आर्थिक वर्ष २०७१÷७२ को बजेट वक्तव्यमा उल्लिखित छ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सघाउ पु¥याउन आवश्यक मौद्रिक तरलता व्यवस्थापन गर्नेे लक्ष्य मौद्रिक नीतिको रहेको बताए ।

मौद्रिक नीतिको कार्यदिशाअनुरूप मौद्रिक क्षेत्रबाट मूल्यमा चाप पर्न नदिन र परिलक्षित आर्थिक वृद्धिलाई सहयोग पु¥याउन मौद्रिक नीतिको अन्तरिम लक्ष्यका रूपमा विस्तृत मुद्राप्रदायको वृद्धिदरलाई १६ प्रतिशतको हाराहारीमा कायम राखिने गभर्नर डा खतिवडाले उल्लेख गरेका छन् । उनले आर्थिक वर्ष २०७१-७२ का लागि प्रक्षेपित आर्थिक वृद्धिदर तथा मुद्रास्फीति दरको आधारमा सिर्जना हुन सक्ने समग्र मागको अवस्थालाई दृष्टिगत गर्दा निजी क्षेत्रतर्फको कर्जा १८ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको बताए ।     गभर्नर डा खतिवडाले समावेशी आर्थिक विकास गर्न मौद्रिक नीतिले सहयोग पु¥याउने विश्वास व्यक्त गर्दै अधिक तरलता, वित्तीय स्थायित्व कायम राख्ने र मूल्य स्थिरतालाई कायम राख्नका लागि मौद्रिक नीतिलाई कसिलो बनाइएको स्पष्ट पारे  ।