सरकारद्धारा ५ सचिवको स्वेच्छिक अवकाश स्वीकृत

साउन २, काठमाडौँ –

पाँच सचिवहरुले स्वेच्छिक अवकाशका लागि दिएको निवेदन सरकारले स्वीकृत गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले सचिवहरू प्रतापकुमार पाठक, नथुराम चौधरी, गणेशराज जोशी, सुशीलकुमार घिमिरे र कृष्णहरि बास्कोटाले आजदेखि साउन ७ गतेसम्म विभिन्न मितिदेखि लागू हुने गरी स्वेच्छिक अवकाशका लागि दिएको निवेदनलाई स्वीकृत गरेको सरकारका प्रवक्ता मिनेन्द्र रिजालले जानकरी दिए ।

बैठकले सरकारका तर्फबाट सुदूरपश्चिम ग्रामीण विकास बैंक र नेपाल ग्रामीण विकास बैंकमा सेयर तथा ऋण लगानी गर्ने निर्णय पनि गरेको सञ्चारमन्त्री समेत रहेका मन्त्री रिजालले बताए । सरकारले नेपालको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकको जिम्मेवारी क्यानेडेली नागरिक पुबुदु दासानायकेलाई आगामी एक वर्षका लागि दिने निर्णय पनि गरेको छ ।

बैठकले मुलुकको बाम लोकतान्त्रिक आन्दोलनकी अगुवा एवम् पूर्वमन्त्री सहाना प्रधानको स्वास्थ्योपचार खर्च बेहोर्न गरिएको प्रतिबद्धताअनुरूप रकम निकासा गर्न अर्थ मन्त्रालयलाई निर्देशनसमेत दिएको छ ।