राष्ट्र बैँकले आज मौद्रिक निति ल्याउँदै

साउन १, काठमाडौँ –

सरकारले लगानीलाई प्रोत्साहित गर्ने गरी आज मौद्रिक निति ल्याउने भएको छ । नेपाल राष्ट्र बैंकले महँगी नियन्त्रण र लगानीलाई प्राथमिकता दिएर मौद्रिक निति ल्याउन लागेको बताइएको छ ।राष्ट्र बैंकले ६ प्रतिशतको आर्थिक वृद्धि र मुल्य बृद्धि ८ प्रतिशतमा सीमित राख्ने सरकारको उद्देश्यलाई पूरा गर्न सहयोग गर्ने खालको मौद्रिक नीति सार्वजनिक गर्न लागेको हो ।

मौद्रिक नीतिमा उत्पादनमुलक क्षेत्रमा सुलभ र सहज कर्जाको ब्यबस्था तथा वित्तीय पहुँचमा जोड दिइएको वताइएको छ । मौद्रिक नीतिमा बाणिज्य बैंकहरुमा रहेको निक्षेपको केही अंश आफैंले किनिदिने व्यवस्था समेत गर्न लागिएको छ । यो व्यवस्थापछि बैंकहरुले बोलकबोलका आधारमा तय हुने ब्याजमा मुद्दती खातामा रहेको निक्षेप निश्चित अबधिको लागि राष्ट्र बैंकमा राख्न सक्नेछन् । यस्तै अहिलेसम्म सरकारी ऋणपत्र मात्रै बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले तरलताको अवस्था हेरेर अब राष्ट्र बैंक ऋणपत्र जारी गर्ने अर्को नयाँ औजार पनि ल्याउँदैछ ।

तरलता ब्यवस्थापनको लागि ल्याउन लागिएको यी दुवै ब्यवस्था नेपालको मौद्रिक इतिहासमा पहिलो पटक प्रयोग हुन लागेको हो । यसअघि राष्ट्र बैंकले बैंकहरुको साख नियन्त्रणको लागि सिआरआर, रिपो र रिर्भस रिपो जस्ता औजारको मात्रै प्रयोग गर्दै आएको थियो । अहिलेसम्म राष्ट्र बैंकले सरकारी ऋणपत्रहरु मात्र बिक्री गर्दै आएको थियो।

राष्ट्र बैंकको बोर्डमा अनिवार्य नगद मौज्दाज  परिवर्तन गर्ने कि नगर्ने भन्ने विषयमा अझै टुंगो लागिसकेको छैन । राष्ट्र बैंकले भने सिआरआर बढाउने तयारी गरेको थियो । नीतिका विषयमा आज बिहान बस्ने सञ्चालक समितिको बैठकले अन्तिम टुंगो लगाउने जनाइएको छ ।