एक करोडमै सभासद दंग

असार ३०, काठमाडौँ ।

आगामी बजेटमा निर्वाचन क्षेत्र विकासका लागि ५ करोड नदिए बजेट पारित नगर्नेसम्मको दबाब दिँदै अँएका सरकार घटक नेपाली कांग्रेसका सभासदहरुले निर्वाचन क्षेत्र विकासका लागि १ करोड रुपैयाँ दिने निर्णयलाई सकारात्मक रुपमा लिएका छन् ।

निर्वाचन क्षेत्र विकास कार्यक्रमलाई सरकारले सैद्धान्तिक रुपमा स्वीकार गरी १ करोड रुपैयाँ दिने निर्णय आफैमा सकारात्मक पक्ष हो भन्दै कांग्रेस सहमहामन्त्री पूर्णवहादुर खड्काले भने,’रकम धेरै थोरैभन्दा पनि यसको सैद्धान्तिक पक्ष स्वीकार्नु महत्वपूर्ण कुरा हो ।’आजको नेपाल समाचारपत्र दैनिकले समाचार छापेको छ ।

निर्वाचन क्षेत्र विकासको लागि ५ करोड रुपैयाँ माग गरिएपनि सरकारले १ करोड मात्र छुट्टाएको विषयमा कांग्रेसका अर्का सभासद कञ्चनचन्द्र बादेले भने,’प्रत्येक निर्वाचन क्षेत्र विकासका लागि १ करोड उपलब्ध गराउने मात्रै नभई जिल्ला विकासले सञ्चालन गर्ने योजनामा निर्वाचित जनप्रतिनिधिले अनुगमन गर्ने तथा सरकारले एउटा क्षेत्रमा भौतिक पूर्वाधार निर्माणमा ५ करोडसम्म खर्च गर्ने नीति सकारात्मक छन् । ‘