शिक्षाको लगानी ओरालो लाग्दै

असार ३०, काठमाडौँ –

सरकारको शिक्षामा समग्र लगानी घट्दै गएको छ । जम्मा बजेटको १७ प्रतिशतसम्म शिक्षामा लगानी भएकोमा आर्थिक वर्ष २०७१र०७२ मा १४ प्रतिशत पनि पुर्‍याइएको छैन । आइतवार प्रस्तुत गरिएको बजेटमा आगामी आवमा शिक्षा क्षेत्रमा उत्साहजनक नयाँ कार्यक्रम ल्याइएको छैन ।

शिक्षामा समेत प्रतिबर्ष बजेटको आकार बढेपनि जम्मा बजेटमा शिक्षामा विनियोजित रकमको प्रतिशत घट्दै आएको छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।  चालू आवमा पाँच खर्ब १७ अर्ब २४ करोडको बजेटमा शिक्षामा झन्डै ८१ अर्ब विनियोजन गरिएको थियो । आगामी आवको ६ खर्ब १८ अर्ब २० करोडको बजेटमध्ये शिक्षामा ८३ अर्ब तीन करोड रुपैयाँ विनियोजन भएको छ ।

तर यो जम्मा बजेटको १३ दशमलब ९५ प्रतिशत हो । राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा शिक्षाविद् प्राडा तीर्न खनियाले शिक्षामा राष्ट्रिय र वैदशिक लगानी घट्दै गएकाले बजेट उत्साहजनक नभएको बताए । नेपालजस्तो देशमा शिक्षा पहिलो प्राथमिकतामा पर्नु पर्नेमा चौथोमा परेको उनको भनाई छ ।