सिरियाली विपक्षद्धारा नयाँ नेता चयन

असार २५, काठमाडौँ –

सिरियामा आन्दोलनरत विपक्षी दलहरुले नयाँ नेता छानेका छन् । निर्वासनमा रहेका ती विपक्षीहरुले नयाँ नेता छानेको बिबिसीले जनाइएको छ । सिरियन अपोजिसन लिडरका रुपमा उनीहरुले हादी अल बहरालाई छानेका हुन् । साउदी अरेबियामा रहेर काम गरिरहेका उनलाई नयाँ नेताका रुपमा छानिएको बताइएको छ ।

सिरियामा तीन वर्षभन्दा लामो समयदेखि आन्दोलन जारी राखेका उनीहरु निर्वासनमा छन् । सिरियाका राष्ट्रपति बसार अल असादलाई सत्ताच्युत गर्नुपर्ने मागगरी उनीहरुले आन्दोलन जारी राखेका छन् । सिरियाली विपक्षीहरुका विभिन्न समूहहरुका तर्फबाट उनलाई नेताका रुपमा चयन गरिएको हो ।

टर्कीको स्तानबुलमा भएको मतदानमा उनले ६२ मत प्राप्त गरेका थिए । विपक्षी नेताको चयनका लागि पनि निर्वाचन नै भएको र उनले ६२ मत प्राप्त गरेको विपक्षीहरुद्वारा सञ्चालित फेसबुक पेजमा जनाइएको छ । आन्दोलनरत विपक्षीहरुको साझा नेताका रुपमा चयन भएका उनीमाथि आगामी दिनमा पनि सिरियाली आन्दोलनलाई निरन्तरता दिई थप सशक्त बनाउने जिम्मेवारी रहने छ ।

साथै उनले निर्वासनमा रहेर पनि सिरियाली राष्ट्रपति बसार अल असादलाई सत्ताच्युत गर्ने काममा थप बल प्रदान गर्नुपर्ने छ । सिरियाली आन्दोलनलाई पश्चिमा मुलुकका साथै अरब राष्ट्रहरुको पनि समर्थन रही आएको छ । उनीहरुले सिरियाली वर्तमान राष्ट्रपतिलाई पदबाट हट्न माग गरी आएका छन् । तर राष्ट्रपति असादले पनि मानेका छैनन् ।