आर्थिक वृद्धिदर ६ वर्षयताकै उच्च, वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण

२५ असार, काठमाडौं –

चालु आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ५.२ प्रतिशत हुने प्रक्षेपण गरिएको छ। अर्थ मन्त्रालयले तयार पारेको आर्थिक सर्वेक्षणमा यो वर्षको वृद्धिदर ६ वर्षयताकै उच्च हुने प्रक्षेपण छ।

केन्द्रीय तथ्यांक विभागले पनि चालु आवमा ५. १५ को आर्थिक वृद्धिदर हासिल हुने आँकलन गरेको थियो। गत वर्ष यो साढे तीन प्रतिशत मात्रै थियो। सरकारले यसअघि ५।५ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको थियो। आजको नागरिक दैनिकले समाचार छापेको छ ।

एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले यो वर्ष नेपालको आर्थिक वृद्धिदर साढे चार प्रतिशत रहने प्रक्षेपण गरेका छन्। ०६२र६३ को जनआन्दोलनपछि दोस्रोपटक नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत नाघेको हो। आर्थिक वर्ष २०६४ र ६५ मा वृद्धिदर ५. ८ प्रतिशत थियो। ‘समयमा बजेट आयो र संविधानसभाको निर्वाचनपछि उदारीकरणको पक्षपाती सरकार नेतृत्वमा आयो। यसले निजी क्षेत्र उत्साहित भयो।

परिणामस्वरुप ६ वर्षपछि सबैभन्दा बढी आर्थिक वृद्धिदर हासिल हुन लागेको छ,’ अर्थशास्त्री चिरञ्जीवी नेपालले भने, ‘समयमा मनसुनी वर्षा भएकाले कृषि उत्पादन बढेर आर्थिक वृद्धिदर उक्लिनमा मद्दत पुग्यो।’ अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर ४. ७ प्रतिशत रहने अनुमान गरेको छ।