टोली नेता छनौटमा नेपाल पक्ष अगाडी , सर्वसम्मतीमा ओलीको बहुमत

असार २२, काठमाडौँ ।

नेकपा एमालेको जारी महाधिवेशनमा नेपाल पक्ष संसदीय दलका नेता केपी ओली पक्ष भन्दा अगाडि देखिएको छ । प्रस्तुत विभिन्न प्रतिवेदनहरु माथि छलफल गर्न गठित समूहगत टोलीको नेता छान्ने क्रममा भएको मतदानमा अध्यक्ष पदका प्रत्यासी माधवकुमार नेपाल पक्ष १८ मतले ओलीपक्ष भन्दा  अगाडि देखिएको हो  ।

त्यस्तै सर्वसम्मत भएका ठाउँमा ओली पक्ष बलियो देखिएको छ । निर्वाचन भएका मध्ये नेपाल पक्षले कूल चारसय ६५ मत प्राप्त गरेको छ भने ओली पक्षले चारसय ४७ मत प्राप्त गरेको छ ।

निर्वाचन भएका मध्ये ६ वटा टोलीको नेता नेपाल समूह अगाडी छ भने  तीन वटामा ओली समूहको बहुमत छ । अधिकांश समूहमा टोली नेता र उपनेता को बन्ने भन्नेमा अध्यक्षका प्रत्यासीद्वय माधव नेपाल र केपी ओली पक्षबीच सहमति हुन नसकेपछि चुनाव भएको हो ।

यसैबीच शीर्ष नेताहरु भने होटल सोल्टीमा सहमतिको प्रयासमा जुटेका छन् ।  अध्यक्ष झलनाथ खनाल र अध्यक्षका प्रत्यासीद्वय नेपाल र ओलीबीच नेतृत्व चयन गर्ने सहमतिको प्रयासमा छलफल भइरहेको छ । अध्यक्ष झलनाथ खनाल, महासचिव ईश्वर पोखरेल र सचिव युवराज ज्ञवालीले राजनीतिक, संगठानिक र विधान संशोधन प्रस्ताव पेश गरेका छन् ।