केपी ओलीसँग वामदेवले मागे ४० प्रतिशत

२१ असार, काठमाडौँ ।

नेकपा एमालेको उपाध्यक्ष वामदेव गौतमले वरिष्ठ उपाध्यक्षको आंकाक्षा राख्दै महासचिवसहित केन्द्रीय समितिमा ४० प्रतिशत हिस्सा पाउनुपर्ने माग अघि सारेका छन् ।

गौतमले नवौं महाधिवेशनका लागि आफू निकटका अध्यक्ष प्रत्यासी केपी शर्मा ओलीसमक्ष शुक्रबार यस्तो प्रस्ताव राखेको स्रोतले बताएको छ । गौतम निटक स्रोतअनुसार महासचिवमा किरण गुरुङ र उपमहासचिवमा केशवलाल श्रेष्ठलाई उम्मेदवारका रुपमा अघि सारिएको छ । आजको नागरिक दैनिकले समाचार छापेको छ ।

‘केन्द्रीय समितिमा ४० प्रतिशत हामीलाई चाहिन्छ भनेर ओलीजी कहाँ सन्देश पुर्‍याएका छौं, गौतम निकट स्रोतले भन्यो, ‘वामदेव गौतमलाई वरिष्ठ उपाध्यक्ष, किरण गुरुङलाई महासचिव र केशवलाल श्रेष्ठलाई उपमहासचिव दिनुपर्छ भन्ने हाम्रो अडान हो ।’

केन्द्रीय समितिमा रविन्द्र अधिकारी, यामलाल कँडेल, बलराम बास्कोटा, हरि पराजुली, शारदाप्रसाद सुवेदी, उमा कोइराला, बलराम थापा, नविना लामा लगायतलाई ल्याउनुपर्ने उनको माग छ । मजदुरकोटाजस्तै किसानकोटाबाट पनि केन्द्रीय सदस्य बनाउनुपर्ने उनको अर्को माग छ ।

गौतमनिकट नेताहरुको शुक्रवारको बैठकले यस्तो प्रस्ताव अघि सारेपछि ओली पक्षलाई प्यानल बनाउन थप कठिन भएको स्रोतको दावी छ । ओलीनिकट स्रोतका अनुसार महासचिवमा ईश्व्र पोखरेल पुन दोहोरिन चाहेका छन् भने सचिव विष्णु पौडेल र शंकर पोखरेलले पनि एक तह उक्लिने आकांक्षा व्यक्त गरिसकेका छन् ।