दश हजार हराएको पीडाले आत्महत्या

२१ असार, बझाङ ।

दौलीचौर(८ खरेनीकी ४९ वर्षीया डल्लीदेवी विकले १० हजार हराएको पीडा सहन नसकेपछि शुक्रबार बिहान चैनपुरको बाहुलीगाड खोलामा हामफालेर आत्महत्या गरेकी छिन् ।

पैसा हराएको पीडाले डल्लीले मृत्यु रोजेपछि उनको परिवार शोकमा छ । बिहीबार बिहान घरबाट सदरमुकाम चैनपुर आएकी डल्लीले पतिसँग भएको पैसा ‘रक्सी खाएर सक्छौं’ भन्दै आफूसँग राखेकी थिइन्  । आजको अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

राती ९ बजे चैनपुरको एउटा होटलमा  खाना खाएर पैसा दिन खोज्दा फेला नपरेपछि उनीहरु स्तब्ध भएका थिए ।  ’हामी राति आधीबाटोसम्म पैसा खोज्न गएका थियौं, मृतकका पति जलाती विकले भने,’म सुतिरहेको थिए, उनी खोलामा आएर पो हामफालिछन् ।’

जलातीका अनुसार डल्लीदेवी रातभरी हे भगवान् यस्तो के भयो भनेर रोइरहेकी थिइन्  । उनले भने,’मैले राती जे भयो भइहाल्यो भनेर सम्झाएको पनि थिएँ  ।’ उनको लास बाहुलीगाड खोलामा ढुंगामा अड्किएको अवस्थामा फेला परेको थियो । ‘घरबाट १० हजार सापटी लिएर ल्याएको हुँ, विकले भने,’यो पैसाले उनको उपचार गर्ने योजना थियो ।’