इराकमा समस्यामा परेका नेपालीको सहयोगमा लाग्ने खर्च सरकारले लिने

२० असार, काठमाडौँ  ।

लामो समय देखि गृहयुद्धमा फसेको मुलुक इराकका केही सहरमा समस्यामा परेका  नेपालीको सहयोगमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले इराकमा फसेका नेपाली नागरिकको उद्धारमा लाग्ने सम्पूर्ण खर्च सरकारले ब्यहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचारमन्त्रि मिनेन्द्र रिजालले जानकारी दिए । मन्त्रि रिजालका अनुसार यस उद्धार कार्यमा यसअघिनै टोली पठाइसकीएको छ ।

यसैबिच मन्त्रिपरिषदको आजको बैठकले पत्रपत्रिकालाई प्रदान गर्ने लोककल्याणकारी विज्ञापनमा विगत चार÷पाँच वर्षदेखि करकट्टा नगरी वितरण गरिँदै आएको र आर्थिक वर्षको अन्त्यमा त्यसको कर कट्टा गर्न सम्भव नभएकाले त्यसमा देखिने बेरुजु मिनाहा गर्ने निर्णय गरेको छ ।

बैठकले दिगो सहरी विकासका लागि संयुक्त राष्ट्र मानव बस्ती कार्यक्रमबाट रु ९४ करोडको अनुदान लिने र खानेपानीका लागि विश्व बैंकबाट रु छ अर्ब सहायता लिने निर्णय गरेको प्रवक्ता डा रिजालले बताए  ।

त्यसैगरी सरकारले कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषबाट अढाई अर्ब लिन वार्ता टोली गठन गर्ने निर्णय गर्नुका साथै नियमित सामान्य प्रकृतिका विदेश भ्रमण, सरुवा बढुवासम्बन्धी निर्णय गरेको छ ।