निर्धारित समयमानै संविधान आउँछ : भट्टराई

११ असार, जनकपुर ।
जनकपुरधाम, ११ असार । एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले आगामी माघ ८ गतेभित्र नेपाली जनताले नयाँ संविधान पाउने बतमएका छन् ।     क्रान्तिकारी पत्रकार सङ्घ नेपाल धनुषाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा बोल्दै डा भट्टराईले सहमति हुन नसकेको विषयमा दलहरुसँग सहमति जुटाउने प्रयास भइरहेकाले तोकिएकै समयमा नयाँ संविधान आउने बताएका हुन् ।

आर्थिक क्रान्तिद्वारा सामाजिक क्रान्तिको धारमा जाने विषयमा पार्टीभित्र बहस चलिरहेको बताउँदै पार्टीलाई गतिशील बनाउन वैचारिक बहसमात्र चलिरहेको प्रस्ट्याए । उनले जनआन्दोलन र मधेस आन्दोलनका कारण देशमा गणतन्त्र आएकाले अब राजनीतिक आन्दोलन करिब–करिब समाप्त भई देशमा अब सामाजिक र आर्थिक क्रान्तिको आवश्यकता रहेको औल्याए ।

उनले  धार्मिक, ऐतिहासिक तथा प्राचीन नगरी जनकपुर अन्तर्राष्ट्रिय रुपमा जति परिचित हुनुपर्ने हो त्यति विकास भने हुन नसकेको बताए ।