सुपथ मूल्य पसलमा चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट

असोज १०, काठमाडौं-सरकारले सञ्चालन गरेको सुपथ मूल्य पसलमा बिहीबारदेखि चामलमा प्रतिकेजी पाँच रुपैयाँ छुट दिएको छ । आजको नयाँ पत्रिका दैनिक लेख्छ उपभोक्ताले अब ३० केजी बोरामा डेढसय रुपैयाँ छुट पाउनेछन् । यसअघि खाद्य संस्थानको चामलमा प्रतिकेजी दुई रुपैयाँ मात्रै छुट थियो । १ असोजबाट सरकारले सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ ।

संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हितसम्बन्धी समितिको निर्देशनपछि सुपथ मूल्य पसलबाट चामलमा छुट उपलब्ध गराइएको हो । खाद्य संस्थानका महाप्रबन्धक डा। शिवहरि श्रेष्ठले समितिको निर्देशनपछि बुधबार चामलमा थप छुट दिने निर्णय भएको जानकारी दिए ।

‘सुपथ पसलमा राखिएको खाद्य संस्थानको चामल खरिद गर्ने उपभोक्तालाई प्रतिकेजी पाँच रुपैयाँ छुट दिने निर्णय भएको छ,’ उनले भने, ‘निर्णय बिहीबारबाटै लागू भइसकेको छ ।’ संस्थानले एक सुपथमूल्य पसलबाट एक क्विन्टल चामल मात्र किन्न सक्ने व्यवस्था गरेको छ ।