प्रधानमन्त्री थबाने स्वदेश फिर्ता

मसेरु (बीबीसी) भाद्र २०,काठमाडौ- दक्षिण अफ्रिकामा केही दिन निर्वासित जीवन बिताइरहेका लेसोथोका प्रधानमन्त्री थोमस थबाने स्वदेश फर्केका छन्। सेनाले ‘कू’ गर्न लागेको दाबी गर्दै उनी शनिबार मुलुक छाडेका थिए। शासन पुनस्र्थापनका लागि शान्ति सेना तैनाथ गर्नुपर्ने उनको मागलाई क्षेत्रीय नेताहरूले अस्विकारेका थिए। कायम मतभेद हटाउन यसको सट्टा शीघ्र एक पर्यवेक्षक दललाई लेसोथो पठाइने भनिएको छ। सेनाले ‘कू’ को आरोपलाई अस्विकारिसकेको छ। दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमाले थबाने र अन्यसँग सोमबार आकस्मिक वार्ता गरेका थिए। वरिपरिबाट दक्षिण अफ्रिकी सीमाले घेरिएको पर्वतीय मुलुक लेसोथोमा सन १९६६ को स्वतन्त्रतापछि थुप्रै पटक ‘कू’ भइसकेको छ।

प्रहरी समर्थित प्रधानमन्त्री थबाने र सेनाको सहयोगप्राप्त उपप्रधानमन्त्री मोथेटजोआ मेटसिङबीचको शक्ति संघर्षले हाल राजनीतीक द्वन्द्व सृजना भएको हो। दक्षिण अफ्रिकी विकास समुदाय (एसएडीसी) क्षेत्रीय गुटको मातहत राष्ट्रपति जुमाद्वारा पि्रटोरियामा आयोजित छलफलमा दुवै नेता सहभागी भएका थिए। प्रधानमन्त्री थबानेले त्यहाँ शान्ति सेना पठाउन अनुरोध गरेका थिए, जसमा अन्य सहभागीहरू समहत भएनन्। यसपछि संसदको पुनर्बहालीका लागि दुवै नेता समय तालिका निर्धारण गर्न सहमत भएको एसएडीसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संसदको पुनस्र्थापना मेटसिङ्गको मुख्य माग थियो।

दक्षिण अफ्रिकी प्रहरीले नेताद्वयलाई स्कटिङ गर्दै राजधानी मसेरु पुर्‍याएका थिए। सहरमा शान्ति छ। व्यवसाय सामान्य ढंगल चलिरहेको छ। दक्षिण अफ्रिकी प्रहरीले प्रधानमन्त्री निवास स्टेट हाउस र मेटसिङ्गको घरलाई सुरक्षा दिइरहेको छ। संकट समाधानका लागि दक्षिण अफ्रिकामा आइतबार र सोमबार भएको बैठकको प्रतिवेदन पेस गर्न प्रधानमन्त्री र उनको सहयोगीहरू राजा लेटस तेस्रोकोमा उपस्थित हुँदै छन्।

सन् २०१२ को मेदेखि एकता सरकारको थवानेले नेतृत्व गर्दै आएका थिए। गठबन्धनमा विभाजन आएपछि अविश्वासको प्रस्तावबाट बच्न उनले संसद सत्रलाई निलम्बित गरेका थिए। मेटसिङ्गका समर्थकहरूले सोमबार बिहान विरोध प्रदर्शन गर्ने योजना त्यागेको थिए। जुनमा अविश्वास मतको प्रस्ताव ल्याउने चेतावनीपछि संसद भंग गर्ने थबानेको निर्णयको विरोध गर्ने उनीहरूले ठानेका थिए। राजधानी मसेरु शान्त भए पनि त्यहाँ पुनः संघर्ष चर्किन सक्ने त्रास छ।

प्रहरीलाई अठ्याउन र पोसाकविहीन पार्न सेना अग्रसर हुने अवस्था छ। केही प्रहरी पद त्यागेर दक्षिण अफ्रिका पलायन भइसकेका छन्। दुई प्रहरी कार्यालय बाहिर शनिबार गोली हानाहानमा सेना संलग्न भएपछि त्यहाँ संघर्ष सुरु भएको थियो। सेनाको हस्तक्षेपमा एक प्रहरीको मृत्यु भएको थियो भने चार घाइते भएका थिए। राष्ट्र संघीय महासचिव बान कि मुनले सैन्य अधिग्रहणप्रति चिन्ता व्यक्त गर्दै लोकतान्त्रिक शासनको सम्मान गर्न आह्वान गरेका छन्।