पहिरोका कारण डेढ घण्टा लोडसेडिङ बढ्ने

साउन १८, काठमाडौँ –  पहिरो झरेर सुनकोशी नदी थुनिएपछि सिन्धुपाल्चोकका जलविद्युत आयोजनाबाट विद्युत उत्पादन नहुँदा दैनिक डेढ घण्टा लोडसेडिङ बढ्ने भएको छ । सुनकोशीबाट विजुली उत्पादन गर्ने केही विद्युतगृह डुबानमा परेपछि त्यहाँबाट विद्युत उत्पादनठप्प भएको हो ।

नेपाल विद्युत प्राधिकरण निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले सिन्धुपाल्चोकका ५ वटा जलविद्युत गृह ठप्प हुदाँ राष्ट्रिय प्रसारण प्रणालीमा ६८ मेगावाट बिजुली घटेको जानकारी दिए । भोटेकोशी, सुनकोशी, सानिमा, चाकुखोला र भैरवकुण्ड जलविद्युत गृहबाट उत्पादन हुने ६८ मेगावाटबिजुली पहिरोको कारण बन्द भएको छ ।

भारतको रक्सौल, कटैया तथा रामनगरक्षेत्रबाट थप बिद्युत आयात गर्न नसकिए लोडसेडिङ डेढ घन्टा बढ्ने पाण्डेको भनाइ छ ।  प्राधिकरणको भार प्रेषण केन्द्रका निर्देशक भुवनकुमार क्षेत्रीले तत्कालका लागि लोडसेडिङ नबढाए पनि आज सुनकोशी पहिरोको प्रभाव अध्ययन गरेर निर्णय गरिने बताए ।