थोत्रा ‘थाङ्ना’ चढाएर भगवानको पूजा

साउन १८, मोरङ – भगवान्को पूजा गर्दा अगरबत्ती बालिन्छ । फूल र अक्षता चढाएर पूजा प्रार्थना गरिन्छ वा पुरोहित लगाएर पाठ गराइन्छ । तर मोरङको बबिया बिर्ताको एक मन्दिरमा भने अनौठो परम्परा छ । त्यहाँ देउता खुसी पार्न थोत्रा लुगा (थाङ्ना) हरु चढाइँदै आएको छ ।  वर्षौंभयो बबियाबिर्ता–३ भुलुवा मङ्गलबारेका बासिन्दाले देउता खुसी पार्न रुखमा थोत्रा लुगाका थाङ्नाहरु चढाउने गर्दछन् । उनीहरुले समाजमा कुनै पनि अनिष्ट नहोस् भनेर वर्षौंदेखि रुखमा थोत्रा लुगा चढाएर चिताएको पुर्याउन आप्ना ‘देउता भलुवा राजा’ लाई आग्रह गर्दछन् ।

 ‘भलुवा राजा भनेका छ्यास्छ्यास्ती देउता हुन्, यसैले हामी केही सामाजिक कार्य गर्नुभन्दा अगाडि पहिले थोत्रा लुगा चढाएर भलुवा राजाको पूजा गर्छौं, स्थानीयवासीको भनाई  छ । स्थानीयका अनुसार भलुवा राजाको नाममा रुखमा थाङ्ना चढाउने चलन छ । उनीहरुले हाल बबिया बिर्ता–३ मा पर्ने भलुवा नदी (पैनी) को किनारमा रहेको जलेबी (एक प्रकारको फल) को रुखमा थोत्रा लुगा चढाएर पूजाआजा गर्दै आएका छन् । पहिले थोत्रा लुगा रुखमा बाँधेर भलुवा राजालाई चढाउँदा स्थानीयले भाकल गर्ने गर्दछन् ।  दसैँको समयमा उनीहरुले भाकलअनुसार बलिपूजा गरेर भलुवा राजालाई खुसी पार्ने गरेका छन् ।
भलुवा राजा कुन समुदायले कहिलेदेखि मान्दै आएका देउता हुन् भन्नेचाहिँ स्थानीयलाई थाहा छैन । केही वर्ष अघिसम्म बबियाबिर्ता आसपास विराटनगर रङ्गेली राजमार्ग किनारमा रहेका रुखहरु थोत्रा लुगाले भरिएका हुन्थे  । तर केही वर्षदेखि भारतीय कृषि मजदुर आउन छाडेसँगै स्थानीयले सीमित ठाउँमा रहेका नदी किनारका रुखलाई मात्रै भलुवा राजाको थान (बासस्थान) मानेर थाङ्ना चढाएर पूजाआजा गर्दै आएका छन् ।