भ्रमण सोचेभन्दा सफल : स्वराज

साउन १२, काठमाडौं –   भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपालको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्किएकी छिन् ।  स्वराजले आफ्नो भ्रमण अपेक्षा गरेभन्दा फलदायी भएको बताएकी छिन् ।  आफ्नो भ्रमणमा भएका सहमतिले दुई देशको सम्बन्ध बलियो बनाएको स्वराजको भनाइ छ ।

‘नेपाल आउनुअघि हाम्रो सम्बन्ध जस्तो बनाउने अपेक्षा लिएर आएकी थिएँ, त्योभन्दा धेरै बलियो बनाउन भ्रमण सफल भएको छ,’ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वराजले पत्रकारसँग भनिन्, ‘हामीले विभिन्न मुद्दामा सहमति गरेका छौँ । यसले नेपाल–भारत सम्बन्धलाई बलियो पारेको छ ।’

स्वदेश फर्कनुअघि स्वराजले पशुपति मन्दिरमा पुगेर विशेष पूजा गरेकी थिइन् । त्यसअघि उनले एमाले कार्यबाहक अध्यक्ष तथा उपप्रधानमन्त्री वामदेव गौतमसहितको टोलीसँग भेटवार्ता गरेकी थिइन् । दुई देशबीचको सम्बन्ध, आर्थिक विकासमा सहयोगलगायतका विषयमा स्वराज र एमाले नेताहरूबीच झन्डै ४५ मिनेट कुरा भएको थियो । आजको नयाँ पत्रिकामा मा खबर छ ।