साढे नौ लाखमा साठी कुलो निर्माण

इलाम, १९ असार ।

जिल्लाको पश्चिमी गजुरमुखी–५ र ६ का बासिन्दाले पक्की कुलो निर्माण गरेका छन् । जिल्ला विकास समितिको रु नौ लाख ६० हजार लागतमा तल्लो ६० कुलो निर्माण गरेका हुन् । स्थानीय खोलाबाट करिब ४०० मिटर पक्की कुलो बनाई खेतमा सिँचाइ सुविधा पुर्याइएको छ । सो वडाका करिब ८३ उपभोक्ताका लागि ६० कुलो निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले बताए ।

साठी मुरी बीउ लाग्ने कुलो भएकाले यसलाई ‘साठी कुलो’ भनिएको हो । नेपाल सरकारको क्रमागत योजनामा परेको यस कुलोका लागि पहिलो वर्ष रु १० लाख प्राप्त भएको र आगामी वर्ष पनि बजेटलाई निरन्तरता दिइने जिविसका योजना प्रशासन शाखाका जगतबहादुर कोइरालाले बताए  । विसं २०७० अघि नै कुलो सञ्चालन गरिए पनि बजेट अभावमा पक्की बनाउन सकिएको थिएन् तर यस वर्षदेखि सरकारले बजेट दिएकाले करिब चार किलोमिटर पक्की कुलो निर्माण गरिने अध्यक्ष श्रेष्ठ बताउछन् ।

किसानले चिराँखे, भँगेरे, बेल्गुठी आदि जातका धान रोप्ने गर्दछन् । बाह्रैमास कुलोबाट सिँचाइ सुविधा पुगेमा धान उत्पादन बढ्ने किसानको अनुमान छ । पानी नपर्दा र मूल नफुटेकाले कुलोबाट पानी ल्याउनुपर्ने बाध्यता रहन्छ । पक्की कुलो नहुँदा खोल्सी र भीरमा पानी चुहेरै सकिन्थ्यो तर अहिले चुहिने भागमा सिमेन्टेड गरेपछि यी समस्या टरेको छ भन्नुहुन्छ स्थानीय चन्द्रकला निरौला । कुलो निर्माणका लागि स्थानीय उपभोक्ताले श्रमदानसमेत गरेका छन् ।