विद्युत् प्राधिकरण जनकपुरमा तोडफोड, पाँचजना पक्राउ

१९ असार, जनकपुर ।

विद्युत् प्राधिकरण वितरण केन्द्र जनकपुरको कार्यालयमा बिहीबार तोडफोड भएको छ । तोडफोडमा संलग्न रहेको भन्दै प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ । गत एक महिनादेखि गाउँको विद्युत् आपूर्ति ठप्प भएर समस्या झेल्दै आएका धनुषाको डेवडिहा गाविसका स्थानीयवासीले प्राधिकरण कार्यालयमा तोडफोड गरेका हुन् ।

ट्रान्सफर्मर जलेर गाउँको वडा नं ७ र ८ का सर्वसाधारण एक महिनादेखि अन्धकारमा बस्न बाध्य रहेको भएपनि प्राधिकरणले त्यसप्रति कुनै सुनुवाइ नगरेको उनीहरूको भनाइ छ । आक्रोशमा आएका डेवडिहावासीले कार्यालयको महसुल काउन्टरको सिसा तोडफोड गर्नुका साथै एक जना कर्मचारीमाथिसमेत हातपात गरेका छन् ।

कार्यालय प्रमुख विनोद यादवसामु गुनासो गर्न बिहान १० बजे प्राधिकरण कार्यालय पुगेका उनीहरूले ११ बजेसम्म पनि यादव कार्यालयमा नआएपछि महसुल काउन्टर तोड्नुका साथै कर्मचारीमाथि हातपात गरेका थिए ।