१० वर्षमा १० हजार मेगावाट विद्यूत

काठमाडौं–
सरकारले २०८२ सम्म १० हजार मेगावाट जलबिद्युत उत्पादन गर्ने घोषणा गरेको छ । व्यवस्थापिका संसद्मा आइतबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्या भण्डारीले आगामि १० वर्षमा उक्त परिमाणको विद्युत उत्पादन गरिने घोषणा गरेकी हुन् । ‘एक वर्षभित्र आधारभुत र दुई वर्षमा माग अनुसार विद्युत उत्पादन गर्ने गरि सरकारले काम अगाडि बढाउने छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘विक्रम संवत २०८२ सम्म १० हजार मेगावाट विद्युत उत्पादन गरिने छ ।’
गत माघमा घोषणा गरिएको ‘ऊर्जा संकटकाल निवारण तथा विद्युत विकास दशक’ कार्ययोजनामा सरकारले १० वर्षभित्र १० हजार मेगावाट विद्यूत उत्पादन गर्ने उल्लेख छ । उर्जा मन्त्रालयका सह–प्रवक्ता गोकर्णराज पन्थ कार्ययोजनाअनुसारै २०८२ सम्म १० हजार मेगावाट उत्पादन गर्ने लक्ष्य लिइएको बताउँछन् । ‘माघ जारी गरिएको कार्ययोजना अनुसारनै सरकारले काम गर्ने हो,’ उनले भने, ‘कार्ययोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गरिने भनिएको छ ।’