गर्भावस्थामा थाइराइड भए यस्तो हुन्छ जोखिम

डा इन्दु केसी, इन्डोक्राइनोलोजिस्ट, चिरायु अस्पताल
काठमाडौं –महिलालाई गर्भावस्था वा सो भन्दा अघि थाइराइडको समस्या भएमा बच्चामा सर्ने जोखिम बढी हुन्छ । गर्भावस्थामा थाइराइडको समस्या देखिएमा औषधि सेवन गर्नुपर्छ । त्यसैले जन्मेको एक हप्ताभित्र बच्चाको थाइराइड परीक्षण गराउनुपर्छ ।

अर्को कुरा, १४र१५ वर्षसम्म पनि केटीहरु महिनावारी नभएमा थाइराइड परीक्षण गर्नुपर्छ । बच्चालाई धेरै पिम्पल आयो भने पनि थाइराइड चेक गर्नुपर्छ । केटा मान्छेमा त्यति लक्षण देखापर्दैन । केटीको महिनावारी आमाको वंशाणुगतका आधारमा हुन सक्छ तर १४÷१५ वर्षसम्म भएन, मोटो छ भने थाइराइड चेक गर्नुपर्छ ।

बच्चामा देखिने थाइराइडलाई पौष्टिक आहार खुवाएर तथा चिकित्सकको सल्लाहअनुसार उपचार गराएमा निको हुन्छ । बच्चामा चाँडो रिकभर हुने क्षमता रहन्छ । बच्चामा निकै सिरियस खालको समस्या रहँदैन । यदि कसैलाई छ भने नियमित उपचार गरेमा निको हुन्छ ।

हाइपो थाइराइडिजममा मोटोपना, अल्छी हुने, मोटाउने, शरीर सुन्निने, दिक्क लाग्ने, अनावश्यक जाडो हुने, प्रजनन क्षमतामा कमी हुने, महिनावारी नियमित नहुने, केहीमा जन्डिस देखिने, बेहोस हुने हुन्छ । कसै कसैलाई कपाल झर्ने लक्षण पनि देखिन्छन् ।

थाइराइड हर्मोन बढी मात्रामा उत्पादन हुने समस्या हाइपरथाइराइडिज्म हो । यसमा मानिस एकदमै दुब्लाउने, मुटुको धड्कन बढ्ने, शरीरको तापक्रम बढ्ने, भोक बढी लाग्ने तर दुब्लाउने, दिसा बढी लाग्ने, महिनावारी गडबडी हुने, मन आत्तिने र मानसिक तनाव बढी हुने हुन्छ । अत्याधिक पसिना आउने तथा मुटु फेल समेत हुने खतरा रहन्छ । युवाहरुमा थाइराइडको समस्या भएमा केही समयका लागि खुट्टा नचल्ने लक्षण पनि देखिन सक्छ । मधुमेह भएका बिरामीले वर्षको एकपटक थाइराइडको पनि परीक्षण गर्नुपर्छ ।

नियन्त्रण गर्ने तरिका

थाइराइडको समस्याअनुसार नै उपचार गरिन्छ । बच्चामा छ भने प्रशस्त मात्रामा पोषणयुक्त खानेकुरा खुवाउनुपर्छ । जंकफुड खान दिनुहुन्न । गर्भवती अवस्थादेखि नै विशेष ख्याल गर्नु आवश्यक छ । यदि परिवारमा कसैलाई थाइराइडको समस्या छ भने गर्भवतीले पहिलादेखि नै जाँच गरेर चिकित्सकको सल्लाहअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । आमाले औषधि खाएको छ भने बच्चालाई समेत पुगोस् भनेर डाक्टरको सल्लाहमा औषधि थप्नुपर्ने हुन्छ ।

थाइराइड बढी उत्पादन हुने समस्या भएका महिलाले गर्भवती नहुँदा नै राम्रो हुन्छ । एक त यस्तो समस्या भएकाको गर्भ नै बस्दैन । केहीमा बस्यो भने पनि बच्चालाई असर गर्छ । यसको औषधिको कुनै साइड इफेक्ट नहुने हुँदा समय समयमा परीक्षण गरेर थाइराइडको अवस्था बुझ्नु आवश्यक छ ।