‘ग्रिन टी’ले साना किसानलाई राहात

यादव ओझा
काठमाडौं–ठुला उद्योगले हरीया पत्ती लिन छाडेपछि चिया खेतीबाटै विस्थापित हुन पुगेका साना किसान ‘ग्रिन टी’ उत्पादन गर्ने विधिबाट राहात महशुष गर्न थालेका छन् । ठुला चिया उद्योगहरुले आफ्नै बगान सुरु गर्न थालेपछि कम जग्गामा चिया खेती गर्ने साना किसानलाई हरीया पत्ती बेच्न गाह्रो परेको थियो ।
हाल देशका १२ जिल्लाका किसानहरु आफैं ‘ग्रिन टी’ उत्पादन गर्ने उद्योग संचालन गरिरहेका छन् । अरुको देखेर सानो बारीमा चिया खेती गर्ने किसान समेत गाउँमै ग्रिन टी उत्पादन गर्ने उद्योग खुल्न थाले पछि व्यवसायिक रुपमै संलग्न हुन थालेका छन् । सानो लगानीमै संचालन गर्न सकिने भएकाले ग्रिन टी उत्पादन गर्ने उद्योगमा किसानको आकर्षण बढेको हो ।
साना चिया उद्योगीहरुको संगठन स्पेशालिटी चिया संघ नेपालका अनुसार देशभर ग्रिन टी उत्पादन गर्ने ७० भन्दा बढी साना उद्योगहरु संचालनमा छन् । ‘सीटिसी चिया उत्पादन गर्ने ठुला कम्पनीले साना किसानलाई जहिले पनि दुःख दिने काम गरे,’ संघका अध्यक्ष राजुशेर्मा लिम्बुले भने, ‘१० रूपैयाँ प्रतिकिलामा बेच्दा समेत ठुला उद्योगले हरिया पत्ति लिन मान्दैनथे ।  साना उद्योगले चिया किसानका लागि राम्रो अवसर सिर्जना गरेको छ ।’ हाल पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, ललितपुर, नुवाकोट, लमजुङ र कास्कीमा साना उद्योगहरु संचालनमा रहेको उनले बताए ।
किसानका अनुसार दैनिक ४० किलोग्राम ग्रिन टी उत्पादन गर्ने एउटा मेशिन किन्नका लागि रू १० लाख सम्म लागनी आवश्यक पर्छ । एउटा साना उद्योगमा किसानहरुले सामुहिक रुपमा २ देखि ५ ओटा सम्म मेसिन संचालनमा ल्याएका छन् । संघको तथ्याङ्कअनुसार साना उद्योगबाट वार्षिक २ लाख ५० हजार किलोग्राम ग्रिन टी उत्पादन हुन्छ ।

‘ठुला उद्योगले दुःख दिएर ग्रिन टी उत्पादन गर्ने सानो उद्योग खोलेका हौं,’ सोखेजुङ–७ इलामका गोपाल दाहालले भने, ‘चिनियाँ प्रविधिका मेसिनले दैनिक २ सय किलोग्राम ग्रिन टी उत्पादन गरिरहेका छौं ।’ नेपालमा ग्रीन टी प्रयोग गर्नेको संख्या बढ्दो क्रममा रहेकाले आफ्नो उत्पादनको बजार समेत बढ्ने उनको विश्वास छ । ‘हाम्रो उत्पादनको माग अन्तरराष्ट्रिय बजारमा पनि राम्रो छ,’ उनले भने, ‘तर, नेपालमा ग्रिन टी प्रयोग गर्नेको संख्या बढ्दै गएकाले आन्तरिक बजारमा समेत खपत बढ्ने संकेत देखिन्छ ।’ अन्तरराष्ट्रिय बजारमा निर्यात गर्दा विभिन्न मापदण्ड पुरा गर्नु पर्ने झन्झट भएकाले आन्तरिक बजार बढे आफुहरुलाई सहज हुने उनको भनाइ छ ।
साना उद्योगबाट उत्पादन हुने चिया संघको पहलमा विभिन्न देशमा निर्यात भइरहेको अध्यक्ष लिम्बुले बताए । ‘हाल भारत, चीन, जापान, ताइवान, जर्मनी, अमेरिका सहित गल्प कम्पनीमा नेपाली ग्रिन टी निर्यात हुन्छ,’ उनले भने, ‘आन्तरिक बजारमा समेत नेपाली ग्रिन टीको माग बढ्दै गएको छ ।’
उद्योग संचालन पछि किसानले हरिया पत्तीको समेत राम्रो मूल्य पाउन थालेका छन् ।  ‘ठुला उद्योगहरुले पहिला १० रूपैयाँ प्रतिकिलोका दरले हरियो पत्ति लिन्थे,’ सुर्योदय–७ इलामका ज्ञानी लिम्बुले भने, ‘अहिले व्यवसायीहरुले ६० रूपैयाँ प्रतिकिलोका दरले हरियो पत्ती बिक्री गर्छन् ।’