प्रेस काउन्सिलका सदस्यमा नियुक्त भएकोमा तुलाधरलाई बधाई

वैशाख २३, काठमाडांै– प्रेस काउन्सिल नेपालको सदस्य पदमा नियुक्त भएकोमा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)का अध्यक्ष शुभेच्छाबिन्दु तुलाधरलाई कार्यकालको बधाई तथा शुभकामना दिइएको छ ।
डब्लुडब्लुजेले एक कार्यक्रमको आयोजना गरी उनको कार्यकालको सफलताको शुभकामना दिइएको हो ।
सो अवसरमा डब्लुडब्लुजेका संस्थापक अध्यक्ष संगीता लामाले आफूले काउन्सिलमा हुँदाको अनुभव बताउँदै पत्रिका वर्गीकरणका लागि काउन्सिलमा भन्दा अन्य निकाय गठन गर्नुपर्ने आवश्यकता औँल्याइन् ।
कार्यक्रममा उपाध्यक्ष अमिका राजथला, महासचिव रामकला खड्कालगायतले डब्लुडब्लुजेको उद्देश्य नै महिलाको कार्यक्षमता तथा  गुणस्तर वृद्धि गर्ने रहेको बताउँदै संस्थाको उद्देश्यअनुरुप अध्यक्ष तुलाधर काउन्सिलको नीति निर्माण तहमा पुग्नुभएको बताए ।
अध्यक्ष तुलाधरले आफ्नो कार्यकालमा काउन्सिलले बनाउन लागेको पत्रकार निर्देशिकामा महिला पत्रकारका मुद्दा हेर्न छुट्टै समिति बनाउन लागेको जानकारी दिँदै पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा विषयवस्तु विश्लेषणलाई ध्यान दिने बताइन् ।