प्रचण्डको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्दा आपत्ति छैनः राणा

वैशाख २३, काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपतिसमसेर राणाले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सहमतिको सरकार बनाउँदा आफुहरुको कुनै आपत्ति नरहने स्पष्ट पारेका छन ।
रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले आफूहरुको समर्थन रहे पनि नरहेपनि केपी शर्मा ओली नेतृत्वको सरकार ढल्ने निश्चित भएको भन्दै पार्टीका प्रमुख तीन नेता र कार्य सम्पादनसमितिको बैठक बसेर सरकारको विषयमा ठोस निर्णय गर्ने स्पष्ट पारे ।
राणाले भुकम्पपछिको पुर्ननिर्माण र नाकाबन्दीको बेलाको आपूर्ति ब्यवस्थाको विषयमा जुद्ध समशेर र मरिचमान सिंहले गरे जति पनि काम गर्न नसकेको आरोप लगाउँदै अहिलेको सरकार मुलुकका कुनै पनि समस्या समाधानमा लचिलो नभएको आरोप लगाए ।
उनले भने,‘ पुनःनिर्माणमा यो सरकार जुद्ध समशेर भन्दा अदक्ष देखियो, पुनःनिर्माणको काम एकदमै धिमा गतिमा चलिरहेको छ । मरिचमान सिंहले १३ महिनासम्म नाकाबन्दी झेल्दा जहाजबाट तेल ल्याए तर यत्रो कालोबजारी भएन । नाकाबन्दी अत्य भएको दुई महिना वित्दा पनि अभाव जारी नै छ । यो भन्दा दयनीय सरकार अरु के हुन सक्छ ?’
राणाले मधेसको समस्या समाधान गर्न सरकार लचिलो नभएको भन्दै बार्तामा ल्याएर समस्या समाधान गर्न सरकार असफल भएको टिप्पणी गरे । उनले भने,‘ मैले प्रधानमन्त्रीलाई भनेको थिए । मधेसमा दुई प्रदेश हुने घोषणा गरेर उनीहरुलाई बार्तामा ल्याउन सकिन्छ । तर सरकारले वास्ता गरेन ।’